संवैधानिक इजलास आज पनि स्थगित

संवैधानिक इजलास आज पनि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा हेर्न गठित संवैधानिक इजलास आज पनि स्थगित भएको छ । न्यायाधीश विवादका कारण लामो समयदेखि प्रभावित हुँदै आएको इजलास पूर्व सूचना विना सोमबार पनि स्थगित गरिएको थियो ।

मंगलबार पनि संवैधानिक इजलास नबस्नुको कारण खुलेको छैन । संवैधानिक इजलासमा भएका न्यायाधीशमाथि नै प्रश्न उठेपछि अघिल्लो सातादेखि यो इजलास मुद्दाको मूल विषयमा अघि बढ्न सकेको छैन ।

हिजो पनि न्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठेपछि त्यसमै बहस भएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० रिट परेका छन् ।

तीमध्ये संसद पुनःस्थापना गरी संविधानको धारा ७५ को उपधारा (५) अनुसार केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री बनाउन माग गर्दै ४ रिट परेका छन् भने बाँकी २६ रिटमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग छ । पहिलो संवैधानिक इजलास भंग भएर वरिष्ठताका आधारमा गठित दोस्रो इजलास पनि विवादित बनेको छ ।

संसद विघटन सम्बन्धी मुद्दा हेर्न आइतबार प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् । तर यो इजलासबाट निष्पक्ष फैसला आउनेमा सरकारी पक्षले नै आशंका गर्दै आएको छ ।