काठमाण्डु – सुदुरपश्चिम प्रदेशमा नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ ।
एमालेबाट निस्काशित नेता माधवकुमार नेपाल समूहका १७ सांसदले पार्टीको निर्णय विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टका पक्षमा मतदान गरेपछि एमालेभित्रको विवाद उत्कर्षमा पुगेको हो । ७ जना संस्थापन सांसदले भने विश्वासको विपक्षमा मतदान गरेका थिए ।
अहिले प्रदेशभित्र एमाले पार्टी र संसदीय दल दुई धारमा देखिएर एकले अर्कालाई स्पस्टिकरण सोध्ने क्रम जारी छ । यो पटक भने स्पष्टिकरण सोध्नेमा नेपाल समूह अघि रहेको छ । प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले संस्थापन पक्षका ७ जना सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेका छन् ।
उनले प्रदेशसभा सदस्य पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ बोहरा, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई बुधबार २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
शाहले एमाले संसदीय दलको ह्विप उल्लङ्घन गरेको भन्दै आज ५ बजेभित्र दलको कार्यालयमा स्पष्टीकरण दिन निर्देशन जारी गरेका हुन् । निर्धारित समय भित्र स्पष्टीकरण नबुझाइए वा स्पष्टीकरण चित्त बुझ्दो नभए संसदीय दलको विधान अनुसार कारबाही गर्ने समेत चेतावनी दिएका छन् ।
त्यस्तै एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले पार्टीको निर्णय नमानी मुख्यमन्त्री भट्टको पक्षमा मत दिने १७ सांसदलाई पार्टीको निर्देशन विपरीत गएकोले कारबाही गरिने बताए ।
संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह सहित १७ जना माधव नेपाल समूहमा उभिएका थिए । यो पक्षमा प्रमुख सचेतक दुर्गाकुमार विक, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउद, तत्कालीन प्रमुख सचेतक तारा लामा तामाङ लगायत रहेका छन् ।
यहि जेठ १० गते बसेको एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । स्थायी कमिटीको निर्णय विपरीत सरकारलाई दिएको समर्थन कायम राखेको तथा पार्टी विरोधी गतिविधि गरेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलका नेता शाहलाई स्पष्टीकरण सोधेका थिए ।




प्रतिक्रिया