काठमाण्डु – नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाले २० जना प्रहरी कर्मचारीहरूलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान गरेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा शाखामा सञ्चालित आठौं समूहअन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो ।
तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा प्रशिक्षकहरूलाई प्रशंसापत्र प्रदान गरे ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक काफ्लेले तालिम सफलतापूर्वक सम्पन्न गर्न सफल भएका सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे । विभागीय गतिविधिका साथै अन्य सूचनाहरू सम्प्रेषण गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै प्रशिक्षणका दौरानमा प्राप्त ज्ञान र सीपबाट श्रव्यदृश्य सामग्री निर्माणमा थप व्यावसायिक भई कार्य गर्न सम्पूर्ण प्रशिक्षार्थीहरूलाई उनदले निर्देशन दिए ।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक रन्जु केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै कुल ३० कार्यदिन अवधि रहेको तालिममा प्रहरी वरिष्ठ नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी वरिष्ठ हवल्दार २ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ४ जना र प्रहरी जवान ८ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए ।
प्रशिक्षक पुरुषोत्तम घिमिरे र प्रशिक्षार्थी प्रहरी वरिष्ठ नायव निरीक्षक मन कुमारी तामाङले आ–आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गरेको कार्यक्रममा श्रव्यदृश्य आधारभूत आठौं समूहद्वारा तयार पारिएको जनचेतनामूलक श्रव्यदृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो ।



प्रतिक्रिया