इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा मृत्यु हुनेको संख्या २६ पुग्यो

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा मृत्यु हुनेको संख्या २६ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्डोनेसियाको एक मिठाई उत्पादन गर्ने कारखानामा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

मंगलबार प्रहरीले थप दुई जनाको शव फेला पारेसँगै मृतकको संख्या २६ पुगेको जनाएको हो । बान्टेन प्रान्तको सेराङ जिल्लामा रहेको फोनुसा अगुङ मुलिया कारखानामा शनिबार दिउँसो आगलागी भएको थियो । राजधानी जकार्ताबाट करिब ५० किलोमिटर टाढा रहेको उक्त कारखानामा आगलागी हुँदा दर्जनौँ कामदार भवनभित्रै फसेका थिए ।

प्रहरीका अनुसार घटनामा अझै २८ जना बेपत्ता छन्। आगलागीको कारण पत्ता लगाउन अनुसन्धानसमेत सुरु गरिएको छ ।

बान्टेनका प्रहरी उपप्रमुख जैन द्वी नुग्रोहोले अनुसन्धानका क्रममा संकलित प्रमाणका आधारमा आगलागी र अन्य व्यक्तिको ज्यान जोखिममा पार्ने गरी लापरबाही वा असावधानी भएको आशंका गरिएको बताएका छन् ।

उद्धारकर्मी जाजुलीले सोमबार फेला परेका धेरै शव आगलागीका कारण जलेर खरानीजस्तै अवस्थामा पुगेको बताएका थिए ।

इन्डोनेसियामा यसअघि पनि आगलागीका कारण ठूलो मानवीय क्षति हुने गरेका घटना छन् । गत डिसेम्बरमा राजधानी जकार्ताको साततले भवनमा ड्रोनको ब्याट्री विस्फोटका कारण आगलागी भएको आशंका गरिएको थियो। उक्त घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको थियो ।

त्यस्तै, सन् २०२३ मा देशको पूर्वी क्षेत्रमा रहेको निकेल प्रशोधन कारखानामा भएको विस्फोटमा कम्तीमा १३ जनाको ज्यान गएको थियो ।