काठमाण्डु – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने दुई किलो ३४८ ग्राम पहेँलो अर्धठोस पदार्थसहित दुई जना चिनियाँ महिलालाईै पक्राउ गरेको छ ।
हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत सोमबार राति काठमाण्डु आइपुगेका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार काठमाण्डु ओर्लिएका ती महिलाहरूको गतिविधि शङ्कास्पद देखिएपछि चेकजाँच गरिएको थियो। त्यस क्रममा उनीहरूले प्लास्टिकले बेरेर आफ्नो मलद्वार तथा भित्री वस्त्रभित्र लुकाई–छिपाई ल्याएको अवस्थामा आठ थान गोलाकार अर्धठोस पदार्थ फेला परेको थियो। भन्सार क्षेत्र पार गरेर बाहिर निस्कने क्रममा प्लास्टिकको र्यापसहित दुई किलो ३४८ ग्राम तौल भएको उक्त वस्तु बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ रहेका छन्।
तीमध्ये लिनाको साथबाट प्लास्टिकसहित एक हजार ३४० ग्राम तौल भएका पाँच थान र सिनपिङको साथबाट एक हजार आठ ग्राम तौल भएका तीन थान सुनजस्तो देखिने गोलाकार अर्धठोस पदार्थ बरामद भएको छ।



प्रतिक्रिया