काठमाण्डु – गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई समर्थन गरेका कारण गण्डकी प्रदेश सरकारको विकल्प खोज्नुपरेको बताएका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन बसेको प्रदेश सभामा बोल्दै पोखरेलले केन्द्रकै सिको प्रदेशका मुख्यमन्त्री गुरुङले पनि प्रदेशमा गरेको आरोप लगाए । केन्द्रमा प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने असंवैधानिक कदमका कारण विपक्षीहरूले मोर्चा कस्नु परेको उनले स्पष्ट पारेका छन् ।
हिजोको ऐतिहासिक जनआन्दोलनमार्फत लोकतन्त्र स्थापना गर्ने आन्दोलनमा सहयात्रा गरेका दलहरूका बीचमा सहकार्य हुँदै गर्दा अन्यथा मान्ने सत्तापक्षले प्रधानमन्त्री र महन्थ ठाकुरको लगनगाँठोलाई के भन्ने ? भनेर प्रश्न गरेका हुन् । आफूलाई सही लागे सुन, नलागे फलाम हुने भन्ने मान्यता नराख्न उनले एमालेलाई आग्रह गरेका छन् ।
अघिल्लोपटक आफूहरूले अविश्वासको मत ल्याउँदा मुख्यमन्त्री राजीनामा दिएर भागेको र संविधानविपरीत धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनलाई बेवास्ता गर्दै प्रदेश प्रमुखले ठूलो दलको हैसियतले पुनः मुख्यमन्त्री नियुक्त गर्ने काम भएको उनले बताए ।




प्रतिक्रिया