काठमाण्डु – नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले माधवकुमार नेपाल समूहका १७ सांसदलाई स्पष्टीकरण सोधेको छ ।
पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै प्रदेश कमिटीले १७ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
एमाले सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले विज्ञप्ति जारी गर्दै पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्न भनेका छन् ।
एमालेले १० जेठमा पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । तर एमालेको नेपाल समूहले भने समर्थन यथावत राख्दै मुख्यमन्त्री भट्टाको पक्षमा मतदान गरेका थिए ।
संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई पार्टीको निर्देशन विपरीत सरकारमा आफू र अरुलाई पनि सहभागी गराउनुपर्ने कारण के हो ? भनेर स्पस्टिकरण सोधिएको छ ।
एमालेका प्रदेश सचिव राजेन्द्र रावलले नेता शाहसहितका १७ जना प्रदेशसभा सदस्यलाई नै स्पष्टीकरण सोधिएको जनाउँदै चित्त बुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिने बताए ।





प्रतिक्रिया