काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश गरेको मनसुनी बादलले आकाश ढाकेका कारण अबको एक साता घाम देख्न नपाइने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशव्यापी रूपमा फैलने क्रममा मनसुनको सक्रियता बढेको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन विशेष बुलेटिनमार्फत नै शनिबारदेखि गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी भागसम्म मनसुन प्रवेश गरिसेकेको जनाएको छ । एक–दुई दिनभित्र देशव्यापी रूपमा मनसुनले प्रभाव जनाउने भएकाले पनि आकाश खुल्ने सम्भावना छैन।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ ।दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसमविदले बताएका छन् ।
देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।




प्रतिक्रिया