काठमाण्डु – आज काठमाण्डु उपत्यकाका तीन वटै जिल्लाका सीडीओको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा बस्ने ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । आज बस्ने बैठकमा निषेधाज्ञाबारे थप निर्णय लिने बुझिएको छ । उपत्यकामा पछिल्लो समय लगाईएको निषेधाज्ञा भोली (३१ गते) सकिँदैछ ।
सरकारले निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सारेकाे छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले मुलुकभर जारी गरिएको निषेधाज्ञाको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निक्र्योल हुने बताए । ‘७७ वटै जिल्लाबाट सुझाव आइसकेको छ, त्यसैको आधारमा आवश्यक निर्णय लिइने छ’, प्रवक्ता दाहालले भने, ‘केही सहजीकरण भने पक्कै हुनेछ ।’
उनका अनुसार आवश्यकताका आधारमा विस्तारै खुकुलो पार्दै लगिने छ । उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकूदका गतिविधि भने अझै खुल्ने छैन ।
आज बस्ने बैठकबाट निषेधाज्ञालाई सहज रुपमा पालना गर्दै कसरी अगाडी बढाउँने भन्नेबारे छलफल हुने बताईएको छ । उपत्यकामा निषेधाज्ञालाई अझै एक साता लम्ब्याईने बुझिएको छ । अब थपिने निषेधाज्ञामा पुस्तक ढुवानी र पुस्तक पसलहरु खुल्न सक्ने बुझिएको छ । त्यस्तै निश्चित समयावधी तोकेर कृषी र विकास निर्माणका क्षेत्रमा पनि खुकुलो बनाईने । त्यस्तै अन्य क्षेत्रमा पनि सावधानी अपनाउँदै केही हदसम्म खुकुलो गरिनेबारे आजको बैठकले निर्णय गर्ने बताईएको छ । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण घटे पनि सतर्कता भने अझै अपनाउनुपर्ने भएको भन्दै थप एक साता निषेधाज्ञा थपिन लागेको हो ।




प्रतिक्रिया