जनप्रतिनिधिले मनपरी खोप वितरण गरेपछि अस्पतालबाट खोप कार्यक्रम सुरु

जनप्रतिनिधिले मनपरी खोप वितरण गरेपछि अस्पतालबाट खोप कार्यक्रम सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले सोमवारदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ ।

भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६० र ६१ वर्ष उमेर समूहका जयेष्ठ नागरिकलाई खोप लगाउन सुरु गर्न जिल्ला स्वास्थ्य कार्यलय काठमाण्डुले परिपत्र गरेअनुसार भोलिदेखि फेरि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरपालिकाको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

महानगरका अनुसार वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरिने छ ।

यसअघि महानगरपालिकाले निर्धारित तालिकाभन्दा दुई दिन अगावै खोप कार्यक्रम स्थगित गरेको थियो । सरकारले तोकेको लक्षित समूह बाहिर गएर जनप्रतिनिधिले खोप वितरण गरेकाले यसपटक भने अस्पतालबाट खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

भोलिदेखि असार १ गतेसम्म चल्ने खोप कार्यक्रममा ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिसहित यसअघि भेरोसेलको पहिलो मात्रा लगाएकाहरू, स्वास्थ्यकर्मी, कोरोना सङ्क्रमितको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्स र प्यारामेडिक विद्यार्थी स्वास्थ्यकर्मीले पनि खोप पाउनेछन् ।

खोप बिहान १० देखि दिउँसो ४ बजेसम्म लगाउन पाइने महानगरपालिकाले जनाएको छ । खोप लगाउनका लागि अनिवार्य रूपमा नागरिकता वा अन्य सरकारी परिचयपत्र लिएर जानुपर्ने छ ।