मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित


काठमाण्डु –  विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था विश्लेषण गरी तत्काल उद्धार, राहत तथा उपचारमा जुट्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन कार्यकारी समितिको आज बिहान सिंहदरबारमा बसेको बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । यस्तै बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७८ स्वीकृत गरेको छ ।

गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिका वडा नम्वर १ को नेगी भन्ने स्थानमा रहेको ढुङ्गाको व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा गृहमन्त्री अधिकारीले अहिले बाढी पहिरोको जोखिम बढिरहेकाले तत्काल राहत तथा उद्धार खटिन मातहतका निकायलाई निर्देशन दिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

बैठकमा सुरक्षानिकायले बाढी पहिरो डुबानको पछिल्लो अवस्थाको बारेमा विपद व्यवस्थापन कार्यकारी समितिलाई ब्रिफिङ्ग गरेको थियो ।