हेलम्बुबाट बेपत्ता भएका ७ जनाको परिचय खुल्यो (नामसहित)

हेलम्बुबाट बेपत्ता भएका ७ जनाको परिचय खुल्यो (नामसहित)


काठमाण्डु – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगाएर बेपत्ता भएका ७ जनाको परिचय खुलेको छ ।

बेपत्ता हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ घर भएका १३ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङका श्रीमान दम्पती र साँगाचोकगढी घर भएका सुरेन्द्र नेपाल रहेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्लाअधिकारी बाबुराम खनालले जानकारी दिए ।

हिजाे बेलुका साढे ६ बजे मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटरमाथि हेलम्बु १ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको थियो । बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ । यसैगरी चनौते भन्ने बजार पनि डुबानमा परेको छ ।

बाढीले हेलम्बुमा ३ ओटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ । केही झोलुंगे पुल पनि बगाएको छ । सो क्षेत्रमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धार, राहत तथा पुनःस्थापनामा जुटेको छ ।