काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको भारतको नयाँ दिल्लीमा उपचार जारी छ ।
नर्भिक अस्पतालमा उपचाररत नेता खनाललाई थप उपचारका लागि बुधबार नेपाल एयरलाइन्सको हवाइजहाजमार्फत भारतको दिल्ली लगिएको थियो ।
दिल्लीस्थित अपोलो अस्पतालमा भर्ना गरिएका नेता खनालको स्वास्थ्य अवस्था सामान्य रहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । उनले बाहिर सञ्चार माध्यममा आएजस्तो स्वास्थ्य अवस्था जटिल नभएको बताएका छन् ।
‘हिजोबाट नै उहाँलाई उपचार थालिएको छ । बाहिर सञ्चारका माध्यममा आएजस्तो स्वास्थ्यमा पूर्ण जटिलताको अवस्था भने नभएको सबैलाई जानकारी गराउदछौं । यसैबीच उहाँको स्वास्थ्यप्रति चासो राखेर स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पुर्ण शुभेच्छुक र शुभचिन्तकहरुमा सचिवालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं’, उनले भनेका छन् ।
केही समयअगाडि कोरोना संक्रमण मुक्त भएर घरमा आराम गरिरहेका नेता खनाललाई रगतमा हेमोग्लोबिनको मात्रा कम र ज्वरो आएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।




प्रतिक्रिया