लुम्बिनीमा जसपा विवाद : को कसको कारबाहीमा ?

लुम्बिनीमा जसपा विवाद : को कसको कारबाहीमा ?


काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले लुम्बिनी प्रदेशका दुई जना सांसदलाई स्पष्टीकरण सोधेको छ ।

पार्टीको ह्वीप उल्लंघन गर्दै प्रदेश सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान नगरेको भन्दै पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका सांसद सहशराम यादव र पुर्मती ढेंगालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

लुम्बिनी सरकारले ल्याएको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न जसपाको ठाकुर पक्षले निर्देशन दिएको थियो । तर, यादव पक्षका सांसद यादव र ढेंगाले मत दिएका थिएनन् ।

पार्टी निर्देशन उल्लंघन गरेको भन्दै यसअघिपनि उनीहरुलाई पाँच दिने स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ नदिएपछि २४ घण्टे स्पष्टीकरण सोधिएको उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डेले जानकारी दिइन् । उनले चित्तबुझ्दो जवाफ नदिएमा पार्टीको विधान अनुसार कारबाही गर्ने बताइन् ।

लुम्बिनी प्रदेशमा जसपाका ६ सांसद छन् । जसमध्ये चार जना पाण्डेसहित सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझी मन्त्री छन् । उनीहरू अध्यक्ष ठाकुर पक्षका हुन् ।

त्यस्तै अर्का अध्यक्ष यादव पक्षले पनि मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागी चार मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । केन्द्रीय कार्यालय सचिव प्रकाश अधिकारीले आइतबार चारैजना मन्त्रीलाई छुट्टाछुट्टै पत्र पठाएर पाँच दिनभित्र सन्तोषजनक स्पष्टीकरण लिखित रुपमा बुझाउन निर्देशन दिएको छ । महन्त ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि जसपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।