भोलिबाट पठाओ सेवा पनि सञ्चालन हुने

भोलिबाट पठाओ सेवा पनि सञ्चालन हुने


काठमाण्डु – राइड सेयरिङ कम्पनी पठाओले काठमाण्डु उपत्यकामा भाेलिदेखि सेवा सुरु गर्ने भएको छ । सरकारले जारी निषेधाज्ञालाई निरन्तरता दिँदै मंगलबारदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेसँगै पठाओले भोलिदेखि सेवा सुरु गर्ने भएको हो ।

सरकारले तोकेको मापदण्ड पुरा गरेर सेवा सुरु गर्ने तयारी गरिएको पठाओका क्षेत्रीय निर्देशक असिममान सिहं बस्न्यातले बताए । ‘लकडाउन अगाडी जस्तै जनस्वास्थ्यका मापदण्ड अपनाएर भोलिबाट सेवा सुरु गर्छौ,’ उनले काठमाण्डुपाटीसँग भने ।

सरकारले मोटरसाइकल र स्कुटरमा दुई जना चढ्न मिल्ने र ट्याक्सीमा ४ जनासम्म चढ्न दिने निर्णय गरेकाे छ । उनले साेहीअनुसार मास्क, स्यानिटाइजर अनिवार्य गरिएकाे बताए । पठाओ राइडरहरुले लगाउने ज्याकेट र ट्राउजर लगाउन भने प्रहरीले बन्देज लगाएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि भन्दै गत वैशाख १६ देखि काठमाण्डु उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागु गरेपछि राइड सेयरिङ पठाओले आफ्नो सेवा बनद गरेको थियो ।