काठमाण्डु – २०७८ असार १ गते सिन्धुपाल्चोकस्थित हेलम्बु र मेलम्चीवासीका लागि कालो दिन बनेर आयो । सिन्धुपाल्चोकका मुख्य पर्यटकीय क्षेत्र मानिने हेलम्बु र मेलम्ची बजार असार १ गते आएको लेदोसहितको भीषण बाढीले बगरमा परिणत भएका छन् ।
मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको तिम्बु, कियुल, चनौटे, ग्यालथुम र मेलम्ची नगरपालिकाको तालामाराङ र मेलम्चीबजारले ठुलो क्षति व्यहोरेको छ ।
लामटाङ निकुञ्जभित्र रहेको भ्रेमाथाङमा गएको पहिरोले मेलम्ची र हेलम्बु क्षेत्रमा बितण्डा मच्चाएको हो । २०७२ साल वैशाख १२ गते गएको भूकम्पले थिलथिलो बनेको भ्रेमाथाङमा पहिरो जाँदा मेलम्ची खोला थुनिएर हेलम्बु र मेलम्ची क्षेत्र नै तहसनहस बनाएको छ ।
पहिरोका कारण हेलम्बु र मेलम्ची क्षेत्रमा खेतीयोग्य जमिन र घरबार सबै बगरमा परिणत भएका छन् । बाढीले मुख्यगरी हेलम्बु क्षेत्रका नागरिक नराम्ररी प्रभावित बनेका छन् । बाढीले सडक सञ्जाल टुटेपछि हेलम्बुमा पर्याप्त राहत पुग्न सकेको छैन् ।
क्षति यकिन विवरण तत्काल भन्न सक्ने अवस्था नरहेको बताउँदै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बाढीग्रस्त क्षेत्रमा पर्याप्त सरकारी सहयोग पुग्न नसकेको जानकारी दिए ।
उनले मेलम्चीको बाढीले ७५ प्रतिशत क्षति हेलम्बुलाई पुर्याए पनि राहत र उद्धारका कार्यमा आफुहरु पछि परेको बताएका छन् । अध्यक्ष शेर्पाले राज्यका निकायले मेलम्ची बजारलाई मात्र केन्द्रबिन्दु बनाएर राहत र उद्धारलगायतका कार्य गर्ने त्यहीबाट हेलम्बुकोसमेत तथ्यांक लिने काम गरेको गुनासो पोखे ।
बाढी पीडितहरु राहतको पर्खाइमा छन् । व्यक्ति र विभिन्न संघ संस्थाहरुले थोरै भए पनि राहत वितरण गरिरहेका छन् । तर, उनीहरुले सरकारले भने अनुसार एकद्वार प्रणालीबाट राहत वितरण नगर्दा समस्या उत्पन्न भएको अध्यक्ष शेर्पाले बताए ।
अध्यक्ष शेर्पाले सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्न भने पनि व्यक्ति र विभिन्न संघसंस्थाहरुले मनोमानी ढंगले राहत वितरण गरेको गुनासो पोखे ।
उनले भने, ‘हामी त एक द्वार प्रणाली मार्फत राहत वितरण गरौँ भनिरहेका छौँ, तर अब धरै जसो सङ्घ/संस्थाहरूले आफैंले राहत वितरण पनि गरिरहेका छन् । हाम्रो खासै त्यस सम्बन्धी ध्यान पनि हुँदैन । उहाँहरूले पनि हामीले राहत बाँडेको तपाईँलाई के मतलब भन्नु हुन्छ । भन्न त भनिरहेका छौँ र एकद्वार प्रणालीबाट नै राहत वितरण गर्ने तिर लागिरहेका छौँ ।’
अध्यक्ष शेर्पाले हाल बाढीपहिरो पीडितको व्यवस्थापन मुख्य चुनौती भएको बताए । अहिलेको स्थितिमा राहत र उद्धार नै पहिलो प्राथमिकता भएको बताउँदै उनले बस्ती बसाउने र पुनःस्थापनाको काम तत्काल सम्भव नरहेको उनले बताए । पुनःस्थापनाका कामहरू दोश्रो चरणमा गर्ने अध्यक्ष शेर्पाको भनाई छ ।
उनले भने, ‘बाढीले क्षति पुर्याएको वस्तीका बासिन्दाहरूलाई सुरक्षित ठाँउमा लैजाने काम भइरहेको छ । अलि गम्भिर अवस्था नै छ ।’
नेकपा एमाले सिन्धुपाल्चोकका पूर्वअधयक्षसमेत रहेका नेता हस्त पण्डितले बाढी पर्यटनको होइरो लागेको भन्दै आक्रोश पोखे ।
‘हाम्रो पीडा हाम्रो ठाउँमा छ तर यो नाटक किन ? सहयोग गर्न आको कि बाढी पर्यटन हेर्न आको ? १० थान पी फोम, १९ बाकस चाउचाउ, २ पकेट पियुस, ३ पकेट जीवनजल र ३ पकेट मास्कको पैसा कति र हेलिकप्टर भाडा कति ?’, उनले भनेका छन् ।





प्रतिक्रिया