काठमाण्डु— डडेल्धुराको परशुराम नगरपालिका वडा नं ९ को हट्वानी सामुदायिक वनमा शनिबार मृत अवस्थामा भेटिएकी अस्मिता धामीको हत्याबारे सत्यतथ्य पत्ता लगाउन माग गर्दै स्थानीयहरु प्रर्दशनमा उत्रिएका छन् ।
जोगबुडा अस्पतालमा विज्ञ डाक्टर नभएका कारण पोस्टमार्टममा ढिलाई भएको र अपराधी उम्किन सक्ने भएकाले तुरुन्तै अस्मिताको शवको पोस्टमार्टम गरि अपराधीको खोजी गर्न दवाव स्वरुप पीडित पक्षले सोमबार नगरपालिका घेराउ गरेका छन् ।
परशुराम नगरपालिका वडा नं. ८ जमरानीकी २६ बर्षीया अस्मिताको शव जोगबुडा अस्पतालको शव गृहमा राखिएको छ । अस्मिताको शव पोस्टमार्टम नहुँदा पीडित पक्ष आक्रोशित बन्दै आइरहेका छन् ।
साथै अस्मिताका आफन्तले नगरपालिकाका मेयर भीम बहादुर साउदलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापन पत्रमा अस्मिताको हत्याबारे सत्य तथ्य र निष्पक्ष छानबिन गर्न तथा चाँडै हत्यारा पत्ता लगाउन, पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्न, परिवारको १ जना व्यक्तिलाई रोजगारीको ग्यारेन्टी गर्न माग गरिएको छ ।
जमरानी आधारभुत स्वास्थ्य केन्द्रको नाम परिवर्तन गरि ‘अस्मिता स्मृति आधारभुत स्वास्थ्य केन्द्र’ नामाकरण गर्न पनि उनीहरुले माग गरेका छन् ।
यस्तै पीडितका छोराछोरीलाई मा.बि. तहसम्म प्रति बालबालिका मासिक १ हजारका दरले छात्रवृत्तिको ग्यारेन्टी गरिनुका साथै निःशुल्क उच्च शिक्षा अध्ययनको व्यवस्था मिलाउन माग गरिएको छ ।
जोगबुडा अस्पतालमा जटिल प्रकृतिको घटनामा विज्ञ चिकित्सक आवश्यक पर्ने भएकाले आफहरुले विज्ञ डाक्टरको माग गर्दै आएको जोगबुडा अस्पतालका डा.मान बहादुर बोहराले बताए ।
असार २ गते देखी बेपत्ता भएकी परशुराम ८ जमरानीको आधारभूत स्वास्थ्य इकाई केन्द्रमा कार्यालय सहयोगी पदमा कार्यरत धामी परशुराम नगरपालिका –९ को हट्वानी सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् ।




प्रतिक्रिया