जसपाका ४ सांसदको पद तत्कालका लागि जोगियो, पूर्ण सुनुवाइ २१ गते हुने

जसपाका ४ सांसदको पद तत्कालका लागि जोगियो, पूर्ण सुनुवाइ २१ गते हुने


काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशका चार सांसदको पद तत्कालका लागि जोगिएको छ ।

सोमबार न्यायाधीश दिपकुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलाशले पूर्ण सुनुवाइका लागि पेश गर्ने भन्ने आदेश गरेपछि अन्तिम फैसला नहुँदासम्म उनीहरुको सांसद पद जोगिएको हो ।

यसअघि सर्वोच्च अदालतले ३ जेठमा सांसद पदमा रहेर कामकारबाही गर्न दिन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अब त्यही अल्पकालीन आदेशले निरन्तरता पाउने भएको छ ।

जसपाको उपेन्द्र यादव समूहले कारबाही गरेपछि कल्पना पाण्डे, सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र सुमन शर्मा रायमाझी पुर्नबहालीको मागसहित सर्वोच्च अदालत गएका थिए ।

आदेशमा भनिएको छ, ‘अदालतले प्रदेश निर्वाचन आयोग लुम्बिनीको लिखित जवाफ म्यादभित्र पेस नभएको र अन्यको लिखित जवाफ पेस भइसकेको देखिँदा रिट निवेदनको संवेदनशीलतालाई विचार गरी असार २१ गते पूर्ण सुनुवाइका लागि पेश गर्नू ।’

लुम्बिनीमा जसपाका ६ जनामध्ये ४ जना सांसदलाई यादव पक्षले कारवाही गरेको थियो । उनीहरू चारैजना अहिले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकामा मन्त्री छन् ।