मेलम्चीमा करेण्ट लागेर एक जनाको मृत्यु, स्थानीय प्रदर्शनमा उत्रिए

मेलम्चीमा करेण्ट लागेर एक जनाको मृत्यु, स्थानीय प्रदर्शनमा उत्रिए


काठमाण्डु — मेलम्चीमा करेन्ट लागेर एक जनाको ज्यान गएपछि स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका छन् ।

मेलम्ची नगरपालिका–१० माझी बस्ती तल इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको खम्बा ढाल्दा करेन्ट लागेर स्थानीयवासी अन्दाजी ३० वर्षीय धर्म दुलालको आज बिहान मृत्यु भएको हो ।

स्थानीय वासिन्दाले विद्युत प्राधिकरणको लापरवाहीका कारण मृत्यु भएको भन्दै प्रदर्शन गरेका छन् ।
प्रदर्शनका कारण मेलम्ची क्षेत्रमा सडक बन्द भएको छ ।

स्थानीय बासिन्दा र विद्युत प्राधिकरणका प्रतिनिधिबीच सोमबार दिउँसोबाट यस विषयमा छलफल सुरु भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले बताए ।

इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार सोही घटनामा मेलम्ची–११ कै भरत दुलाल घाइते भई मेलम्चीमा उपचार भइरहेको छ । शिखरपुर नवलपुरतर्फ ल्याइएको फलामे खम्बालाई इन्द्रावतीको बाढीले क्षति पुर्याएपछि विद्युत् चुहिँदा सो दुर्घटना भएको जनाइएको छ ।