दक्षिण सुडानको राजनीतिक अवस्थामा केही सुधार : संयुक्त राष्ट्रसंघ

दक्षिण सुडानको राजनीतिक अवस्थामा केही सुधार : संयुक्त राष्ट्रसंघ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेनन्सी – संयुक्त राष्ट्रसंघले दक्षिण सुडानको राजनीनिक अवस्थामा केही सुधार आएको बताएको छ । दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघका उच्च दूत निकोलास हेसमले सो कुराको जानकारी दिएका छन् ।

उनले दक्षिण सुडानमा नयाँ संविधान निर्माण गर्ने र राजनीतिक सुधार गर्ने कामको थालनी भएको र त्यसमा केही प्रगति पनि भएको देखिएको बताएका हुन् । तर त्यहाँको सुरक्षाको अवस्थाका बारेमा भने उनले चासो व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘दक्षिण सुडानको राजनीतिक र न्यायपालिकाको सुधारका बारेमा काम अघि बढेको छ र यहाँको सरकारले त्यस क्षेत्रमा काम गरेको छ । तर सबैले सुरक्षाका बारेमा भने चिन्ता व्यक्त गर्नुपर्ने अवस्था छ ।’ संयुक्त राष्ट्रसंघले सुरक्षाका क्षेत्रमा अझै समन्वय बढाउनुपर्ने उनले सुझाव दिएका छन् ।

उनले भने, ‘यहाँ संयुक्त राष्ट्रसंघले गएको मे महिनामा राजनीतिक प्रक्रियालाई अघि बढाउने एक कार्यदल गठन गरेको छ र त्यसले आफ्नो काम थालेको छ ।’ राष्ट्रपति साल्भा किरले हालैमात्र एक विधायिकामा ५५० जना थप गरेर कार्यदल पुनर्गठन गरेका थिए ।

त्यस विधायक सभाले नयाँ संविधान निर्माण गर्ने काम गरिरहेको पनि उनले जानकारी दिएका छन् । हाल संसारको कान्छो देशका रुपमा चिनिएको दक्षिण सुडान १० वर्ष अघि नयाँ राष्ट्रका रुपमा स्थापना भएको हो । आगामी जुलाई ९ मा यो देशले आफ्नो स्थापनाको दशौँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ ।

साथै संयुक्त राष्ट्रसंघ र विश्वका कतिपय देशहरुको सहयोग र समन्वयमा यहाँ नयाँ संविधान निर्माण गर्ने काम पनि भइरहेको बताइएको छ ।