संसद विघटनः देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मुद्दाको आजदेखि निरन्तर सुनुवाइ

संसद विघटनः देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मुद्दाको आजदेखि निरन्तर सुनुवाइ


काठमाण्डु – संसद विघटन विरुद्धमा परेका रिटमाथि आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ ।प्रतिनिधि सभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ जना सांसदले दिएको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने भएको हो ।

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वाेच्चमा ३० वटा रिट निवेदन परेका छन् । तीमध्ये देउवासहित १४६ सांसदले दिएको रिट निवेदनमा पहिला सुनुवाइ हुने भएको हो । मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास बनाइएको छ ।

बिहीबारसम्म दुवै पक्षका कानुन व्यवसायीले बहसनोट पेस गरिसक्नुपर्नेछ । सर्वोच्च अदालतले गत जेठ २६ गते नै समयसीमा तोकेर त्यसैको हदभित्र दुवै पक्षका कानुन व्यवसायीलाई बहस गर्न आदेश दिएको छ । विघटन गलत हो भनी मुद्दा हालेका देउवासहित १४६ सांसदका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले १२ घण्टा समय पाउनेछन् । दैनिक चार घण्टा सुनुवाइ हुँदा तीन दिनमा उनीहरूको बहस सकिनेछ ।