देउवा, प्रचण्ड, नेपाल र उपेन्द्र राजतन्त्र फर्काउने दुष्कर्म गर्दैछन् : खिमलाल भट्टराई

देउवा, प्रचण्ड, नेपाल र उपेन्द्र राजतन्त्र फर्काउने दुष्कर्म गर्दैछन् : खिमलाल भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले राष्ट्रिय सभाका मुख्य सचेतक खिमलाल भट्टराईले नेता माधव नेपाल सहितको गठबन्धनका नेताहरूले मुलुकको राजनीतिलाई पञ्चायत र राजतन्त्रतिर फर्काउने दुष्कर्म गरिरहेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा मुख्य सचेतक भट्टराईले नेता नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा अन्य विपक्षी दलका नेताहरूसँग मिलेर मुलुकको राजनीतिलाई पञ्चायत र राजतन्त्रतिर फर्काउन लागेको टिप्पणी गरेका हुन् ।

उनले विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाएर लागेको आरोप लगाएका छन् । मुख्य सचेतक भट्टराईले भनेका छन्, ‘विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाएर लागेको छ । लोकतन्त्र र अग्रगमनको जामाभित्र गठबन्धनको नेताहरू शेर बहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्रहरूले पञ्चायत र राजतन्त्रतिर मुलुकको राजनीतिलाई फर्काउने दुष्कर्म गर्दै हुनुहुन्छ । होसियार बनौं ।’

बहुदलीय व्यवस्थामा निर्दलीय अभ्यास हुन नसक्ने बताउँदै उनले थपे,‘संविधानको धारा ७६ (५) सांसद र दल दुवैलाई हो । प्रधानमन्त्रीको उम्मेदवार हुन दलको निर्णय, समर्थन जरुरी पर्दैन । तर उनलाई प्रधानमन्त्री हुनको लागि दलको समर्थन आवश्यक हुन्छ । उनले दलहरूको समर्थन लिनु पर्ने हुन्छ । उपधारा ५ मा धारा ७६ को उपधारा २ अनुसार भन्ने उल्लेख भएकोले दलले समर्थन गर्नुपर्ने र सांसदलाई ह्वीप लाग्ने निश्चित छ ।’