विपक्षीलाई प्रदीप ज्ञवालीको आग्रहः एमालेलाई खुचिङ नगरौं

विपक्षीलाई प्रदीप ज्ञवालीको आग्रहः एमालेलाई खुचिङ नगरौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले खुचिङ नगर्न आग्रह गरेका छन् ।

आइतबार एमाले स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले एमालेमा परेको समस्यामा खुचिङ नगर्न विपक्षी दलहरुलाई आग्रह गरेका हुन् ।

उनले एमालेले कारबाही गरेका कर्णाली प्रदेशका चार जना सांसदको पुुनर्बहालीको विषयमा खुचिङ नगर्न आग्रह गरेका छन् ।

‘हाम्रो चिन्ता नेकपा एमालेलाई अप्ठ्यारो प¥यो भन्ने होइन । कर्णाली प्रदेशमा चारजना साथीहरु कारबाहीमा परेका छन् । उनीहरु आउँदा कार्यान्वयन हुँदा समझदारी हुने हो भनेदेखि क्षणिक रुपमा एमालेको सरकार बन्छ’, प्रवक्ता ज्ञवालीले भने, ‘एमालेलाई फाइदा नै छ । तर, प्रश्न यो होइन । फ्लोर क्रस गर्दा पनि कारबाही भएन भने मुलुकको दलीय प्रणाली टिक्छ ? हाम्रो चिन्ताको विषय यही हो । अरु दलहरुलाई एमालेमा परेको समस्यामा खुचिङ नगर्न म आग्रह गर्छु ।’

उनले एमालेलाई एकताबद्ध गराउन आफूहरु प्रयत्नशील रहेको बताएका छन् । प्रवक्ता ज्ञवालीले कतिपय नेताका व्यवहार एकतासँग मेल नखाने खालका भएको भन्दै त्यसले एमालेलाई जोगाउन नसक्ने बताए ।

‘एकतालाई मध्यनजर गरेर अध्यक्ष केपी शर्मा ओलीले गत जेठ २३ गते आह्वान गर्नुभएको छ । त्यसैमा आधारित भएर अहिले छलफलहरु जारी छन्’, उनले भने, ‘हामी एकता जोगाउन प्रयत्नशील छौ, आशा मारेका छैनौं । तर अव नेताहरु के गर्नुहुन्छ आन्दोलन र व्यक्तिगत जीवलाई कसरी लानुहुन्छ यो भविष्यले निर्धारण गर्ला ।’

कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । तर, एमालेले गरेको सो कारवाहीलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरिदिएको थियो ।