संसद दिवस वृक्षारोपण गरेर मनाइँदै, सम्झनामा २०१६

संसद दिवस वृक्षारोपण गरेर मनाइँदै, सम्झनामा २०१६

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज संसद दिवस, विगतका वर्षहरुमा विभिन्न कार्यक्रम गरी मनाइँदै आए पनि यस वर्ष भने कोरोना भाइरसको संक्रमणको जोखिमले औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । दिवसका अवसरमा प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले संघीय संसद सचिवालय परिसरमा आज दिउँसो २ बजे वृक्षारोपण गर्ने बताइएको छ ।

विगतका बर्षहरुमा विभिन्न कार्यक्रम हुने गर्दथ्यो भने यसबर्ष स्वाथ्यका मापदण्ड अपनाएर सिमित व्यक्तिहरुको माझमा वृक्षारोपण गर्न लाग्नुभएको हो । विक्रम सम्बत २०१५ सालमा भएको पहिलो निर्वाचनपछि २०१६ साल असार १६ गते जननिर्वाचित संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।

सम्झनामा २०१६

प्रतिनिधिसभाका लागि २०१५ फागुन ७ गतेदेखि निर्वाचन सुरुभएको थियो । ४५ दिनसम्म चलेको निर्वाचनमा ९ वटा राजनीतिक दलले मात्रै भाग लिएका थिए ।

बिपी कोइराला नेतृत्वको नेपाली कांग्रेसले रुख, रणधीर सुब्बा नेतृत्वको नेपाल राष्ट्रवादी गोर्खा परिषद्ले झोपडी, डा केआई सिंह नेतृत्वको संयुक्त प्रजातन्त्र पार्टीले धानको बाला, डा केशरजंग रायमाझी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मकैको घोगा र हँसिया, टंकप्रसाद आचार्य नेतृत्वको नेपाल प्रजा परिषद्ले घन कोदालो, भद्रकाली मिश्र नेतृत्वको नेपाल प्रजा परिषद्ले हलो, डा डिल्ली रमण रेग्मी नेतृत्वको राष्ट्रिय कांग्रेसले छाता, वेदानन्द झा नेतृत्वको तराई कांग्रेसले टाउकोमा गहुँको बिटो बोकेको किसान, रंगनाथ शर्मा नेतृत्वको प्रजातान्त्रिक महासभाले हात चुनाव चिह्न पाएका थिए ।

चुनावमा नेपाली कांग्रेसले १ सय ८, गोर्खा परिषद्ले ८६, नेकपाले ४७, प्रजा परिषद् (आचार्य)ले ४६, प्रजा परिषद् (मिश्र)ले ३६, तराई कांग्रेसले २१, राष्ट्रिय कांग्रेसले २० र प्रजातान्त्रिक महासभाले ६८ क्षेत्रमा उम्मेदवारी दिएका थिए । निर्वाचनमा राजनीतिक दलका तर्फबाट ५ सय १८ र स्वतन्त्र तर्फबाट २ सय ६८ उम्मेवार भए ।

निर्वाचनमा कांग्रेसले सर्वाधिक ७४ सिट जित्यो । त्यस्तै, नेपाल राष्ट्रवादी गोर्खा परिषद्ले १९, नेपाल कम्युनिस्ट पार्टीले ४ सिट जिते। बाँकी सिटमा केही स्वतन्त्र उम्मेदवार र केही अन्य दल आएका थिए । निर्वाचनपछी २०१६ असार १६ का लागि प्रतिनिधिसभाको पहिलो बैठक बोलाइएको थियो ।

सिंहदरबारमा असार १६ गते मध्यरातमा प्रतिनिधिसभाका सदस्यहरु उपस्थित भएपछि पहिलो बैठक बसेको थियो । ११ः४५ भनेर समय तोकिए पनि बैठक १२ बजे सुरु भएको थियो । असार १६ गतेबाट सुरु भएकोे अधिवेशन असोज २१ गतेसम्म लम्बिएको थियो ।