राजसंस्थालाई स्वीकार गरौं : नेता लावती

राजसंस्थालाई स्वीकार गरौं : नेता लावती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले नेपालको सार्वभौमिकता, राष्ट्रियता र प्रजातन्त्र सुढृद गर्न राजसंस्थाको अपरिहार्यतालाई स्वीकार्नुपर्ने बताएका छन् । एक टेलिभिजन कार्यक्रममा बोल्दै राप्रपाका युवा नेता लावतीले नेपालको सार्वभौमिकता, राष्ट्रियता र प्रजातन्त्र सुढृद गर्न राजसंस्थाको अपरिहार्यतालाई स्वीकार्नुपर्ने बताएका हुन् ।

‘सकारात्मक शान्ति, धर्म, सँस्कृति, परम्परा र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न राजसंस्थाको आवश्यकता देशव्यापी महसुस भएको छ । नेपालको सार्वभौमिकता, राष्ट्रियता र प्रजातन्त्रसमेत सुढृद गर्न राजसंस्थाको अपरिहार्यता स्वीकार गर्नु पर्ने अवस्था छ,’ उनले भने ।

‘देशमा राजसंस्था चाहिएको छ, हिजो भएको गल्ती सच्याउनु परेको छ । विकसित घटनाक्रमले यही अवस्था चित्रण गरेको छ,’ उनले भने । ‘सुर्यलाई हत्केलाले कति दिन छेक्ने ?’

उनले शान्ति प्रक्रियाको आरम्भबाटै संरचनागत त्रुटी भएको बताए । ‘राजसंस्था अर्थात् दरबार, संसदवादी शक्ति र माओवादीबीच त्रिपक्षीय द्वन्द्व थियो । तर शान्ति प्रक्रियामा द्वन्द्वको एक पक्ष, राजसंस्थालाई समावेश गरिएन । सोही संरचनागत त्रुटीको प्रतिफल नेपालमा सकारात्मक शान्ति प्राप्त भएन,’ लावतीले भने ।

सकारात्मक शान्ति, नयाँ नेपाल, समावेशिता, समृद्धि र पहिचान केही पनि बाचा गरे अनुसार पूरा नभएको उनको भनाइ थियो ।

राप्रपा महाधिवेशनको चर्चा गर्दै उनले संस्थापकहरुको योगदानको कदर गर्दै पार्टीलाई दीर्घजीवन दिनु पर्दछ, उनले भने । ‘यसैले विधिमा अडेर महाधिवेशनबाट विश्वनसीय नेतृत्व चयन गर्नु पर्दछ ।’

राप्रपाको निरन्तरता र बृहत्तर हित मध्यनजर गर्दै, युवा र महिलालाई समेट्न पार्टीले कुनै कसर बाँकि राख्नु नहुनेमा उनको जोड थियो ।

महाधिवेशनको सन्दर्भमा नेतृत्व हस्तान्तरणको बहस राप्रपा भित्र जारी रहेको स्वीकार गर्दै नेता लावतीले बहुसंख्यक युवा भएको देशमा, युवा उर्जाको यथेष्ट उपयोग र सम्मान हुनु पर्न जिकिर गरे । दोस्रो पुस्ताको बहसबाट पार्टी पछि फर्कने नसक्ने उनले बताए ।