राष्ट्रिय सभा अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

राष्ट्रिय सभा अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सभाको आठौं अधिवेशन आजदेखि सुरू हुँदैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा अपरान्ह ४ बजे बस्ने भएको हो ।

आज बैठकको सुरूमा अध्यक्षले राष्ट्रपतिले बैठक आह्वान गरेको पत्र र मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि पढेर सुनाउनछन् । त्यसपछि विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र सपथ सम्बन्धी अध्यादेश, २०७८ अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा सहभागी हुने अध्यक्षदेखि राष्ट्रिय सभाका सदस्यलगायतको एन्टिजेन्ट परीक्षण बुधबार नै गरिएको थियो । प्रतिनिधिसभा दोस्रो पटक विघटन भएको अवस्थामा माथिल्लो सदनको बैठक सुरु हुन लागेको हो । सातौं अधिवेशन गत पुस २६ मा अन्त्य भएको थियो ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको सातौं अधिवेशनको बैठक बसेको थियो । दोस्रो पटक गत वैशाख ७ गते राति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा फेरि विघटन गरेको मुद्दा अहिले सर्वोच्च अदालतमा सुनुवाइका क्रममा छ ।

सम्भावित दैनिक कार्यसूची

राष्ट्रपतिको पत्र

१ सम्माननीय अध्यक्षले अधिवेशन आह्‍वान सम्बन्धी सम्माननीय राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनु हुने ।

राष्ट्रपतिको कार्यालयको पत्र

२. सम्माननीय अध्यक्षले मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनु हुने ।

अध्यादेश

३. सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले देहाय बमोजिमका अध्यादेशहरू सभा समक्ष पेश गर्नुहुनेः–

(क) संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७

(ख) शपथ सम्बन्धी अध्यादेश, २०७८

४. माननीय उपप्रधानमन्त्री एवम् गृह मन्त्री विष्णुप्रसाद पौडेलले देहाय बमोजिमका अध्यादेशहरू सभा समक्ष पेश गर्नुहुनेः–

(क) नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८
(ख) बेपत्ता पारिएका व्यक्तिको छानबीन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७
(ग) नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८
(घ) सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८
(ङ) तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८

५. माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले देहाय बमोजिमका अध्यादेशहरू सभा समक्ष पेश गर्नुहुनेः–

(क) फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८
(ख) यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८

६. माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले देहाय बमोजिमका अध्यादेशहरू सभा समक्ष पेश गर्नुहुनेः

(क) स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८
(ख) कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८
(ग) औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८

शोक प्रस्ताव

७. सम्माननीय अध्यक्षले पूर्व राष्ट्रिय सभा सदस्यहरू गंगादत्त जोशी, डा. शंकरप्रसाद उप्रेती, ऐश्वर्यलाल प्रधानाङ्ग, प्रा. विदुर पौडेल, पूर्व प्रतिनिधि सभा सदस्यहरू एकनाथ रानाभाट, कुबेरप्रसाद शर्मा, मोतिप्रसाद पहाडी, हरिभक्त अधिकारी, कृष्ण सिंह परियार एवम् संविधान सभा सदस्यहरू दिनेशचन्द्र यादव, अशोक कोइराला, नविन्द्रराज जोशी, लक्ष्मीदेवी भण्डारी, मोहम्मदी सिद्धिकी, शिवबहादुर खड्का, रबनी चौधरी र तप्तबहादुर विष्टको निधनमा शोक प्रस्तावहरू प्रस्तुत गर्नुहुने।

(डा. भरतराज गौतम)
संघीय संसदको महासचिव