बेइजिङ- चीनले आज चिनियां कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाइरहेको छ । राजधानी बेइजिङ,सांघाईलगायतका ठुला शहरमा चिनियां कम्युनिष्ट पार्टीले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर आज स्थापना दिवस मनाइरहेको छ । चीनले जुलाई १ मा पार्टीको स्थापना दिवस मनाउने गर्दछ । यो वर्ष त झन् चिनियां कम्युनिष्ट पार्टीको लागी विशेगा छ, किनभने आज पार्टी स्थापनाको एक सय वर्ष पुगेको छ ।
बेइजिङको तियानान्मेन स्क्वायरमा झन्डै ७० हजारजना वर्षगांठ मनाउनका लागि भेला भएका छन्, उनीहरुमध्ये धेरैजनाले मास्क लगाएका छैनन् । चीनमा कोरोना भाइरसको प्रभाव खासै नरहेकाले उनीहरु स्वतन्त्र हिडिंरहेका छन् । कार्यक्रममा सैनिक जहाज उडाउनुको साथै चीनले आफ्नो सैन्य क्ष्ँमता समेत प्रर्दशन गरेको थियो ।
चिनियां कम्युनिष्ट पार्टीको स्थापनाको सय वर्ष पुगेको उपलक्ष्यमा विश्वभरबाट चीनलाई शुभकामना समेत आइरहेको छ ।
चिनियां कम्युनिष्ट पार्टी २३ जुलाई १९२१ मा चीनको आर्थिक राजधानी भनेर चिनिने सांघाईमा स्थापना भएको थियो । जसको संस्थापकमा अध्यक्ष माओसहित चाउ एन लाई,चेन दुसियाओ र ली दझाओ थिए ।
चीनमा कम्युजिष्ट पार्टी स्थापना हुंदा सुरुमा ५० जना पार्टी सदस्य थिए । त्यो बेला चीन गरिब र गृहयुद्धबाट समेत आक्रान्त मुलुक थियो । तर,आज चीन एउटा शक्तिशाली मुलुक र सिपीसी विश्वकै बढी पार्टी सदस्य भएको पार्टी बन्न सफल भएको छ । सन् २०१२ मा सत्ता सम्हालेका वर्तमान राष्ट्रपति सी जिनपिङले चीनलाई विश्व शक्ति बनाउने अभियानको नेतृत्व गरिरहेका छन् ।
चिनियां कम्युनिष्ट पार्टी १९४९ देखी हालसम्म सत्तामा छ । चिनियां कम्युनिष्ट पार्टीका अध्यक्ष माओले १९४९ अक्टोबर १ मा जनगणतन्त्र चीन स्थापना भएको घोषणा गरेका थिए । त्यसपछि त्यतिवेलाका चिनियां शासक च्याङ काइ सेक भागेर ताइवान टापुमा पुगेका थिए । आज पनि ताइवानसंग चीनको सम्बन्ध खराव छ । कतिपयले चीनले ताइवानलाई चीनमा गाभ्ने आशंका व्यक्त गर्न थालेका छन् ।
सत्तामा पुगेपछि माओले औद्योगिक विकासमा जोड थिए तर उनको धेरै नीतहरु असफल भएको मानिन्छ । १९७६ पछि चिनियां कम्युनिस्ट पार्टीको नेतृत्वमा तीव्र आर्थिक वृद्धि भइरहेको छ। चीनमा अहिले करोडौं मानिसहरु गरिबीबाट मुक्त भएका छन् र चीन विश्वको प्रमुख शक्तिराष्ट्रका रुपमा उदाएको छ। सीपीसीमा आवद्ध पार्टी सदस्यको संख्या अहिले ९ करोड छ ।
सात दशकदेखी सत्तामा रहेको चिनियां कम्युनिस्ट पार्टीको नेतृत्व अहिले राष्ट्रपति सी जिनफिङको हातमा आइपुगेको छ । उनि १९४९ को क्रान्तिपछि जन्मेर सत्तामा पुग्ने पहिलो चिनियां नेता हुन् । उनी सत्तामा आउनेवित्तिकै सीको नेतृत्वलाई लिएर प्रश्न उठेपनि अहिले उनकै नेतृत्वमा चीनले उचाई हासिल गरिहेको छ । उनलाई चीन र बाहिर समेत
माओसंग जोडेर हेर्न थालिएको छ ।
पार्टीको विधानमा उनलाई माओ सरहको स्थान दिइएको छ । चिनियां कम्युनिष्ट पार्टीको २०१७ मा सम्पन्न महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै उनको राजनीतिक विचारलाई नयां युगको चिनियां विशेषतासहितको समाजवादबारे सी जिनपिङको विचार भन्ने नारा समावेश गरिएको छ । चीनमा त्यस्तो सम्मान माओ र चीनमा आर्थिक सुधार ल्याएका देङ सिआओपिङलाई मात्रै दिइएको थियो । नयां युगले आधुनिक चीनको तेस्रो चरणलाई इंगित गर्दछ ।
चीनमा पहिलो चरणमा संस्थापक अध्यक्ष माओले गृहयुद्धले क्षतविक्षत भएको देशलाई एकढिक्का बनाएको मानिन्छ भने दोस्रो चरणमा देङ सिआओपिङले चीनलाई समृद्ध बनाउन भुमिका खेलेका थिए । हालका राष्ट्रपति सिले देशलाई थप एकढिक्का र समृद्ध बनाउनुका साथै देशभित्र अनुशासित र देशबाहिर भने सशक्त रुपमा प्रस्तुत गरेको मानिन्छ ।
यही दशकभित्र अमेरिकालाई उछिन्ने उद्देश्य लिएर अघि बढेको चीनले अहिले पश्चिमा मोडलको विकल्पको रुपमा अघि सारेको छ । आज चीन संसारमै एउटा महाशक्तिको रुपमा उदाएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणमा सफल भएसंगै चीन संसारभर एउटा उदाहरणिय मुलुक बन्न सफल भएको देखिन्छ । तर, चीनका आगामी दिन पनि कठिन हुन सक्ने विश्लेषण समेत हुन थालेको छ ।
बिहिवार चिनियां राष्ट्रपति सी जिनपिङले चीनले कसैलाई थिचोमिचो नगर्ने बताएका छन् । चिनियां कम्युनिष्ट पार्टी स्थापनाको १ सयौं वर्षगांठ मनाउने क्रममा उनले अमेरिकाप्रति लक्षित गर्दै कसैसंग चीन नदब्ने बताएका छन् । उनले चीनलाई दमन गर्न खोज्नेको ‘टाउको ग्रेट वाल अफ स्टिलमा ठोक्किने’ चेतावनी समेत दिए ।
एक घण्टा लामो सम्बोधनमा सीले चीनको विकासमा कम्युनिष्ट पार्टीको मुख्य भूमिका रहेको भन्दै यसलाई जनताबाट अलग गर्न खोज्ने प्रयास असफल हुने बताए । उनले कसैलाई पनि चीनविरुद्ध दमन गर्ने मौका नदिने बताए ।





प्रतिक्रिया