काठमाण्डु – एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनल खेलमा शनिबार दुई परम्परागत प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने-सामने हुँदैछन्।
नेपाली समय अनुसार बिहान १०ः३० बजेदेखि सुरु हुने यस खेलसँगै दुई टोलीबीचको ह्यान्डशेक (हात मिलाउने) विवाद पुनः सतहमा आएको छ।
खेलअघि सबैभन्दा ठूलो चासोको विषय दुवै टोलीका खेलाडीहरूबीचको हात मिलाउने प्रक्रिया (ह्यान्डशेक) लाई लिएर छ।
भारतीय पुरुष तथा महिला क्रिकेट टोलीले विगत ३८३ दिन र लगातार ६ वटा खेलदेखि पाकिस्तानी खेलाडीहरूसँग हात मिलाएका छैनन्।
यो निर्णय गत वर्ष अप्रिलमा भएको पहलगाम आक्रमणपछि लिइएको थियो। भारतले सेप्टेम्बर २०२५ मा भएको पुरुष एसिया कपदेखि पाकिस्तानी खेलाडीहरूसँग हात नमिलाउने नीति अपनाउँदै आएको छ।
टी–२० मा भारतको वर्चस्व
विगतका खेलहरूको तथ्याङ्क हेर्दा भारतको पल्ला भारी देखिन्छ। दुई देशबीच हालसम्म खेलिएका १७ वटा टी(२० खेलमध्ये भारतले १३ खेल जितेको छ भने पाकिस्तानले ३ खेलमा मात्र सफलता पाएको छ। एक खेल टाइ भएको थियो।
पाकिस्तानले भारतलाई पछिल्लो पटक सन् २०२२ को एसिया कपमा पराजित गरेको थियो, त्यसयताका लगातार ६ टी–२० म्याचमा भारत नै विजयी भएको छ।
टोलीको स्थिति
भारतीय टोली : सेमिफाइनलमा श्रीलंकालाई हराउन १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशी (३८ रन) र इशान किशन (अविजित ८० रन)ले उत्कृष्ट प्रदर्शन गरेका थिए।
बलिङतर्फ अनुभवी तीव्र गतिका बलर जसप्रित बुमराहका साथै स्पिनरद्वय अभिषेक शर्मा र अक्षर पटेल टोलीका प्रमुख हतियार हुन्।
पाकिस्तानी टोली : कप्तान साहिबजादा फरहान भारतविरुद्ध टी–२० मा सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याटर हुन्।
उनीबाहेक मध्यक्रमका ब्याटर अब्दुल समद र सेमिफाइनलमा ३ विकेट लिएका बलर सुफियान मुकिमबाट पाकिस्तानले ठूलो आशा राखेको छ।
मौसम र पिच
जापानको निसिनमा शनिवार मौसम सफा रहने र वर्षाको सम्भावना १० प्रतिशत मात्र रहेको बताइएको छ।
सेमिफाइनल खेलमा जस्तै पिचबाट स्पिन र बाउन्स मिल्ने सम्भावना रहेकाले बलरहरू निर्णायक बन्न सक्ने अनुमान गरिएको छ।
सम्भावित प्लेइङ-११
भारत : श्रेयस अय्यर (कप्तान), वैभव सूर्यवंशी, अभिषेक शर्मा, सञ्जु स्याम्सन (विकेटकिपर), इशान किशन, तिलक वर्मा, शिवम दुबे, अक्षर पटेल, वाशिंगटन सुन्दर, रवि बिश्नोई, जसप्रित बुमराह।
पाकिस्तान : साहिबजादा फरहान (कप्तान), माज सदाकत, उस्मान खान (विकेटकिपर), सैम अयुब, हसन नवाज, अब्दुल समद, अराफात मिन्हास, अहमद दानियाल, मोहम्मद वसीम, सुफियान मुकिम, अबरार अहमद।




प्रतिक्रिया