काठमाण्डु – नवलपरासी वर्दघाट सुस्ता पश्चिमका कृष्ण प्रसाद न्यौपाने पेशाले शिक्षक हुन् । अहिले उनले दैनिक भर्चुअल माध्यमबाट अध्यापन गराइरहेका छन् ।
सरकारले काठमाण्डु उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाएसंगै उनको मनमा चिन्ता परेको छ– विद्यालयहरु खुलेभने कसरी भौतिक उपस्थितीमै कक्षा सञ्चालन गर्ने ! शिक्षकहरुलाई सरकारले कोरोना भाइरसविरुद्धको खोपको प्राथमिकतामा नपार्दा त्रास छाएको उनको गुनासो छ ।
उनी भन्छन्, ‘सरकारले सबैभन्दा जोखिम क्षेत्र मानेको शैक्षिक संथा अझै खुलाइएको छैन् । अब विस्तारै भौतिक उपस्थितिमै परिक्षा सञ्चालनको कुरा आइरहेको छ । तर, शिक्षकहरुको जोखिमका बारे केही चसोच्दा हाम्रो मनोबल घटेको छ ।’
उनले सबै शिक्षकहरुलाई कोरोनाविरुद्धको खोपको यथाशिघ्र व्यवस्था हुनुपर्ने माग गरेका छन् । ‘अरु क्षेत्रभन्दा वढी जोखिम भन्ने तर त्यही जोखि मोल्नुपर्ने शिक्षहरुको स्वाथ्यबारे मौन रहनु अन्यायपुण हो हामीलाई पहिला खोपको व्यवस्था होस् अनि बल्ल भौतिक उपस्थितीमै कक्षा सन्चालनको विषय उठाउदा राम्रो । अब २५ जनाको उपस्थिति पनि जोखिमनै छ हामी कसरी निरीक्षण गर्ने ?,’उनले भने ।
असार १ गतेबाट शैक्षिकसत्र सुरु भएको छ । सरकारले जारी गरेको निषेधाज्ञासमेत खुकुलो हुँदै गएको छ । तर, जोखिमको अवस्था कायमै रहेका बेलामा शिक्षकलाई खोप लगाएको भए भौतिक उपस्थितिसहित पठनपाठन गराउने विकल्पबारे सोच्न सकिन्थ्यो । अहिले अधिकांश विद्यालयका शिक्षकले हामीलाई खोप कहिले ? भन्दै सरकारसमक्ष प्रश्न तेस्र्याएका छन् ।
यस्तै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका–१ का शिक्षक रमेश आचार्य पनि खोपको पर्खाइमा छन् । दिक्तेलस्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा अध्यापन गराउने रमेश पनि शिक्षकहरुलाई खोप लगाएपछि मात्र भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्नुपर्ने बताउँछन् ।
उनले भने, ‘शिक्षकहरूलाई खोप लगाउनबाट सरकारले बेवास्ता गरेको छ । शिक्षकहरू अभिभावक र विद्यार्थीसँग प्रत्यक्ष सम्पर्कमा रहिरहनुपर्नेहुन्छ । त्यसैले पनि शिक्षकलाई खोपको पहिलो प्राथमिकतामा राख्नुपर्ने हो । खोप नलगाई भौतिकरुपमा कक्षा सञ्चालन गर्दा हामीलाई पनि त जोखिम छ । यसबारे सरकारले बुझ्नुपर्ने हो ।’
सरकारले कोरोनाविरुद्ध खोप लगाउन शिक्षकलाई प्राथमिकतामा नराखेको भन्दै अधिकांश विद्यालयका शिक्षकले भौतिक उपस्थितिसहित पठनपाठन गर्न नसक्ने बताउन थालेका छन् । अहिले देशभर झन्डै ४ लाख शिक्षक–कर्मचारी छन् । तीमध्ये अधिकांशले खोप लगाउन पाएका छैनन् ।
खोप लगाउने प्राथमिकतामा समेत शिक्षक–कर्मचारी छैनन् । यता स्वास्थ्य मन्त्रालय अन्र्तगतको खोप शाखा प्रमुख झलक शर्मा गौतमले हालसम्म पेशागत रुपमा खोप वितरणको कुनै तयारी नभएको बताए । उनले पेशागत रुपमा खोप लगाउन सम्भव नहुने बताए ।
उनी भन्छन्, ‘सबै पेशा व्यवसाय भन्दापनि हामी अब उमेर समूह अनुसार खोप को प्राथमिकता तोक्छौँ । पेशागत रुपमा वितरण गर्दा सम्भव देखिएन ।’
सरकारले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जना नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । सरकारले खरिद गरेको १० लाख डोज भेरोसिल खोप लिन नेपाल वायु सेवा निगमको जहाज भोली चीन जाँदैछ । तर, सो खोप लगाउने सूचीमा पनि शिक्षक प्राथमिकतामा छैनन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २५ लाख ७७ हजार ९ सय ६५ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।
यस्तै, ७ लाख ४९ हजार १ सय ३६ जनाले खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको पहिलो प्राथमिकीकरण सूचीमा स्वास्थ्यकर्मी, सार्वजनिक सफाइकर्मी, नेपाल सरकार बैंक तथा संस्थानका कर्मचारी, कैदीबन्दी रहेका छन् ।
साथै, खोप लगाउने दोस्रो प्राथमिकताको सूचीमा ५५ वर्ष र माथिका नागरिक, ४० देखि ५४ वर्षका दीर्घ रोगी रहेका छन् ।




प्रतिक्रिया