काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सुकुम्बासी समस्या, संसद्को अन्योल र समसामयिक राजनीतिक मुद्दाहरूबारे निर्णय गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको बैठकले काठमाण्डुका सुकुम्बासी बस्ती व्यवस्थापनको सवालमा सरकारलाई विवेकपूर्ण कदम चाल्न सुझाव दिएको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि बल प्रयोगभन्दा मानवीय र न्यायोचित उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिएको छ । यस प्रक्रियामा अदालतका आदेशहरू र विगतका संसदीय समितिका निर्णयहरूलाई मार्गदर्शक मान्नुपर्ने कांग्रेसको धारणा छ । वास्तविक सुकुम्बासीको पहिचान सुनिश्चित गर्दै सुकुम्बासीको नाममा अनुचित लाभ लिनेहरूलाई भने कानुनको दायरामा ल्याउनुपर्ने माग कांग्रेसले राखेको छ ।
बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा आह्वान गरिएको संसद् अधिवेशन एकाएक स्थगित गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ । संसद् बैठक नबस्दै पुन: स्थगित हुनुका वास्तविक कारणहरू सार्वजनिक गर्न माग गर्दै कांग्रेसले अविलम्ब सदन सुचारु गरी संसद्प्रति सरकारको जवाफदेहिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
सांगठनिक सुधारअन्तर्गत कांग्रेसले संसदीय दलको विधानलाई समयसापेक्ष परिमार्जन गरी पारित गरेको छ । संशोधित विधानअनुसार संसदीय दलको नेता तथा कार्यसमिति चयन प्रक्रियाको समन्वयका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा टोली गठन गरिएको छ । टोलीमा उपसभापति पुष्पा भुसाल तथा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे रहेका छन् ।
विश्वविद्यालयमा विद्यार्थीका संस्थाहरू खारेज गर्ने तयारीप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले तिनलाई खारेज नभई सुधार गर्नुपर्ने माग गरेको छ ।
बैठकले सिन्धुलीको प्रहरी हिरासतमा कृष्ण विकको मृत्यु भएको घटनामा निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । कूटनीतिक मामिलामा इरानी सैनिकको हिरासतमा रहेका नेपाली नागरिक अमृत झाको सकुशल रिहाइका लागि आवश्यक पहल गर्न समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता चालिसेले जानकारी दिए ।




प्रतिक्रिया