काठमाण्डु – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को विवाद समाधान गर्न पाँच सदस्यीय इजलास गठन गरेको छ ।
बुधबार जसपाका नेताहरु र आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा बसेको बैठकले इजलास गठन गरेको हो ।
इजलासमा थपलियासहित आयुक्तहरु ईश्वरी पौडेल, रामप्रसाद भण्डारी, डा. जानकी तुलाधर, सगुनशमशेर जबरा रहेका छन् ।
इजलास गठनसँगै अब कुनै आयुक्त अनुपस्थित भएमा पनि इजलास गर्न बाधा नपर्ने भएको छ । उक्त इजलासले सुनुवाइका लागि आगामी ३ साउनमा जसपाका दुवै पक्षलाई बोलाएको छ ।
जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो ।
अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि आफ्नो पक्षलाई आधिकारिता दावी गर्दै आयोगमा निवेदन दिएका थिए । ऐनअनुसार दुवै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास असफल भएपछि सुनुवाइ प्रक्रिया थालिएको आयोगले जनाएको छ ।




प्रतिक्रिया