कराँची– पाकिस्तानको कराँचीमा जागिरको प्रलोभन देखाएर बोलाइएका कम्तीमा ६० hgf युवतीका मोबाइल फोन लिएर ठगहरू फरार भएका छन्।
सामाजिक सञ्जाल र ह्वाट्सएप समूहमार्फत् उनीहरूलाई एक कार्यक्रमका लागि स्टल व्यवस्थापनको काम दिइने भन्दै बोलाइएको थियो। सेप्टेम्बर ३० मा उनीहरूलाई कराँचीबाहिरको एउटा फार्महाउसमा लगिएको थियो।
फार्महाउसमा पुगेपछि कम्पनीको नीति भन्दै सबै युवतीका मोबाइल फोन जम्मा गराइएको थियो। केही समयपछि मोबाइल राखिएको झोला बोकेर मुख्य आरोपी मोटरसाइकलमा फरार भएको प्रहरीले जनाएको छ।
स्थानीय प्रहरी अधिकारी मोहम्मद अलीका अनुसार पीडित सबै युवती रोजगारीको खोजीमा रहेका र मध्यमवर्गीय परिवारका हुन्। उनीहरूलाई एक सातासम्म काम गरेबापत दैनिक २ हजार पाकिस्तानी रुपैयाँसहित अन्य सुविधा दिने आश्वासन दिइएको थियो।
उनीहरूलाई कराँचीबाहिरको बहरिया टाउनस्थित गेटेड कम्युनिटीमा कार्यक्रम हुने र त्यहाँ स्टल व्यवस्थापन गर्नुपर्ने बताइएको थियो।
तर सेप्टेम्बर ३० मा बहरिया टाउन लैजानुको सट्टा उनीहरूलाई कराँचीको बाहिरी क्षेत्रमा रहेको एउटा फार्महाउसमा पुर्याइएको थियो। त्यहाँ पुगेपछि केही युवतीहरू सशंकित भएका थिए।
एक पीडितका अनुसार मुख्य आरोपी र उनका सहयोगीले सामान्य व्यवहार गर्दै फार्महाउसमा महिला संयोजकसँग भेट हुने र दिउँसोको खाना खाएपछि सबैलाई बहरिया टाउन लगेर स्टल व्यवस्थापनमा खटाइने बताएका थिए।
त्यसपछि मुख्य आरोपीले कम्पनीको नियम भन्दै सबैको मोबाइल फोन जम्मा गरेका थिए। काम सकिएपछि मोबाइल फिर्ता गरिने उनले बताएका थिए। तर मोबाइल जम्मा गराएको केही समयमै उनी झोला लिएर मोटरसाइकलमा फरार भए।
प्रहरीका अनुसार मुख्य आरोपी अझै फरार छन्। उनी कराँचीबाट भागेर गुजरानवाला पुगेको आशंका गरिएको छ। प्रहरीले उनका दुई भाइलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। उनीहरूले फोनमार्फत मुख्य आरोपीसँग सम्पर्क गरी प्रहरीसमक्ष आत्मसमर्पण गर्न आग्रह गरेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न एक महिलालाई समेत प्रहरीले हिरासतमा लिएको छ। मोहम्मद अलीले यति ठूलो संख्यामा मोबाइल फोन लिएर फरार भएको घटना आफूहरूले पहिलोपटक देखेको बताए। प्रहरीले मुख्य आरोपीको खोजी तीव्र पारेको जनाएको छ।




प्रतिक्रिया