काठमाण्डु — नेकपा माओवादी केन्द्रले ‘पार्टी खारेजीको माग’ गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गर्नु हास्यास्पद भएको बताएको छ ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दल दर्ता र खारेजीसम्बन्धी कानूनी प्रक्रियाबारे सामान्य जानकारी समेत नभएको व्यक्तिले यस्तो काम गर्नु हास्यास्पद भएको जानकारी दिएका हुन् । उनले पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्तिहरुले यस्ता हर्कत निन्दनीय रहेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ , ‘केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनसायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ । संविधान, कानून, विधि, विधान विपरीत दुष्प्रचार गरिएकोमा पार्टीका सम्पूर्ण अंग नेता कार्यकर्ता, शुभचिन्तक भ्रममा नपर्न आग्रह गर्दछौं । हाम्रो पार्टी त्यस्तो कुनियतको दुष्प्रचारलाई खारेज गर्दछ । त्यस प्रकारका अनाधिकृत तथा आयोगसँग बेसरोकार निवेदन दर्ता स्वीकृत गर्दा अनावश्यक भ्रम सृजना हुने भएकोले आइन्दा त्यसो नगरियोस भन्ने आग्रह समेत गर्दछौं ।’
माओवादी केन्द्रले बर्खास्त गरेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणी थापा, लुम्बिनी प्रदेशका सांसद दिनेश पन्थीलगायतका नेताहरुले पार्टी खारेजीको माग गर्दै आयोगमा निवेदन दिएका थिए ।
माओवादी केन्द्रको वैधानिकता समाप्त भैसकेकोले आफूहरुलाई गरिएको कारबाहीले पनि मान्यता नपाउने उनीहरुको जिकिर छ ।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेपछि नेकपा एमाले लागेका नेताहरुलाई पूर्वमाओवादी केन्द्रका नेताहरुलाई बर्खास्त गरेको थियो ।





प्रतिक्रिया