पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च सरकारले व्यहाेर्ने निर्णयप्रति गगन थापाको आपत्ति

पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च सरकारले व्यहाेर्ने निर्णयप्रति गगन थापाको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका युवा नेता गगन थापाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत विदेशमा गरिएको उपचार खर्चको एक रुपैयाँ पनि राज्यले बेहोर्न नमिल्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रीपरिषद्ले निर्णय गर्ने प्रचलन थियो । यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्‍यौँ र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौँ । तर पनि प्रमको ठाडो प्रस्तावमा राज्य कोषबाट उपचार खर्च दिने काम रोकिएन ।

कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा मैले नै ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने संशोधन प्रस्ताव राखेँ ।

यो संशोधन सांसदले स्विकार्दै बनेको कानुन २०७५/६/२ गतेदेखि लागू भयो । कानुनले स्पष्ट भन्छ जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न मिल्दैन । प्रधानमन्त्रीज्यू अब भन्नुस् पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो?