काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न सिन्धुपाल्चोक पुगेका छन् । उनी सेनाको हेलिकोप्टरमार्फत शनिबार बिहान बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका विभिन्न ठाउँको निरीक्षण गर्न त्यसतर्फ प्रस्थान गरेका हुन् ।
बाढी आएको २६ दिनपछि उनी प्रभावित क्षेत्र अवलोकनाका लागि गएका हुन् । प्रधानमन्त्री सिन्धुपल्चोक प्रस्थान गरिसकेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए । प्रधानमन्त्री ओलीले बाढीबाट क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनालगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्ने कार्यक्रम छ ।
उनले मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पुर्याएको क्षतिको साथै हेलम्बु गाउँपालिकाको बाढीपहिरो प्रभावित विभिन्न ठाउँको हवाइ निरीक्षण गर्नेछन । प्रधानमन्त्रीले पीडितलाई राहत वितरण तथा घोषणाको कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया