काठमाण्डु – नेपालमा कोरोना विरुद्धको खोप आउने क्रम सुरु भएको छ । कोरोना नियन्त्रण गर्न खोप नै उत्तम विकल्प भएको विज्ञहरुले भनिरहँदा नेपालमा खोप आयात पनि बढेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले खोप ल्याउन अग्रसरता देखाएपनि देशको कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीले खोप खरिदका लागि पहल नगरेको भन्ने आलोचना भइरहँदा नेपालमा खोप आउनेक्रम बढेको छ । नेपालमा हालसम्म विभिन्न कम्पनीको ५० लाख ४८ हजार खोप ल्याइएको छ ।
नेपालले चीनसँग खरिद गरेको ४० लाख मात्रा खोपमध्ये पहिलो चरणको खोप शुक्रबार नेपाल आइपुगेको हो । भारतको सिरम इन्स्टिच्युटसँग खरिद गरिएको र सम्झौताअनुसार गत चैतमै आइसक्नुपर्ने कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप नआएपछि आलोचित बनेको सरकार खोप कुटनितिमा असफल भएको आरोप खेपिरहेको छ ।
कुटनीति कमजोर हुँदा नेपालले सम्झौता भएको खोप पनि पाउन नसकेको आवाज उठेको छ । यता राष्ट्रपति विद्यादेवी भण्डारीले पनि खोप खरिदका लागि पहल नगरेकी होइनन् ।
खोप उत्पादन गर्ने राष्ट्रका समकक्षीहरुलाई पत्राचार गरेपनि खोप उत्पादक कम्पनीहरुले हालसम्म जवाफ पठाएका छैनन् । तर, चीनले भने नेपाललाई सहयोग गरेको छ । कोरोना भाइरसविरुद्धको चिनियाँ भेरोसेल खोपको पहिलो खेप शुक्रबार ८ लाख मात्रा नेपाल भित्रिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ साउन र ८ साउनमा बाँकी भेरोसेल खोप आउनेछ । नेपालले चीनसँग खरिद गरेको ४० लाख मात्रा खोपमध्ये पहिलो चरणको खोप शुक्रबार नेपाल आइपुगेको हो ।
जोन्सन एण्ड जोन्सनको खोप भोली आउँदै
अमेरिकाले नेपाललाई प्रदान गरेको जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप भोली काठमाण्डु आइपुग्ने भएको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले उक्त मात्रामा खोप नेपाललाई दिन लागेको हो । कोरोनाविरुद्ध बनेका अन्य खोपहरू दुई मात्रा लगाउनुपर्ने भए पनि जोन्सन एन्ड जोन्सनको खोप एक मात्रा मात्र लगाए पुग्ने खोप विज्ञहरूको भनाइ छ ।
कोभ्याक्स सुविधामा छैन प्रगति
कोरोना भाइरसविरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’ सुविधामार्फत नेपाललाई अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको भारतको सेरम इन्टिस्च्युटले उत्पादन गर्दै आएको कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज प्राप्त भएको छ । कोभ्याक्सले कुल जनसख्ंयाको २० प्रतिशतलाई पुग्ने खोप उपलब्ध गराउने बताएपनि दोस्रो चरणमा खोप आएको छैन ।
कोभ्याक्स सुविधा पनि राष्ट्रपतिकै पहलमा
खोप खरिदमा कुनै प्रगति नदेखिएका बेला कोभ्याक्स सुविधामार्फत धनि राष्ट्रहरुले गर्न लागेको सहयोगको जस लिन सरकार अग्रसर देखिएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार डा राजन भट्टराइले सरकार खोप कुटनीतिमा असफल भएको भन्ने भनाई अस्वीकार गरेका छन् । उनले सरकारकै पहल र कसरतका कारण खोप नेपाल आएको बताए ।
उनले भने, ‘कोभ्याक्स भन्दैमा त्यसै आउने भए किन अरुदेशले पाएनन् नेपालमा यती चाँडै कसरी आयो ?’ उनले विरोध गर्नेहरुले मात्र सरकारको मेहनेत नदेखेको आरोप लगाए । सरकारको सफल कुटनितिका कारण अमेरीकाले नेपाललाई सहयोग गर्न लागेको दाबी गरे ।
यसैगरी अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई गरेको अनुरोधका आधारमा ह्वाइट हाउसले १५ लाख मात्रा खोप उपलब्ध गराएको ट्वीटरमा लेखेका छन् ।
खोप सम्बन्धमा ट्वीट गर्दै अमेरिकी राजदूत र्याण्डी बेरीले नेपाल र अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा आफ्नो लागि अन्यन्तै खुसीको क्षण भएको बताएका छन् । उनले भनेका छन्, ‘अमेरिका सदैव नेपालीहरुको साथमा छ र नेपालको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहने छ ।’
कोभ्याक्स
कोरोना भाइरसविरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’ सुविधामार्फत नेपालमा करिब ६० लाख नेपालीलाई पुग्ने खोप उपलब्ध हुने गैरआवासीय नेपाली संघले जनाएको छ ।
संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोभ्याक्स सुविधामार्फत न्यून आय भएका मुलुकमा खोपको सहज वितरण गरिने भएकाले नेपालमा पनि ६० लाख मानिसका लागि कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ । यद्यपि, यसका लागि सबैभन्दा पहिले खोपको सफलता नै आवश्यक भएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए ।
हाल विश्वभर ५८ वटा कोरोनाविरुद्धको खोपको क्लिनिकल ट्रायल भइरहेको छ । तीमध्ये १५ वटाको परीक्षण अन्तिम चरणमा छ । अमेरिकी र जर्मन साझेदार कम्पनी फाइजर र बायोएनटेकले निर्माण गरेको खोपलाई भने ५ वटा मुलुकले अनुमति दिइसकेका छन् । सो खोप ९५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।
हालसम्म बेलायत, बहराइन, क्यानडा, अमेरिका र मेक्सिकोले सो खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिएका हुन् । पहिलो चरणमा उच्च जोखिममा रहेका बिरामी र वृद्धवृद्धालाई सो खोप दिइनेछ । नेपालमा पनि सोही खोप ल्याउन सकिने संकेत सरकारी अधिकारीहरूले गरेका छन्, यद्यपि सो विषयमा औपचारिक निर्णय भएको छैन ।
कोभिड–१९ संक्रमणबाट हालसम्म विदेशमा करिब ५० हजार नेपालीहरू प्रभावित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार नेपालबाहेक ४९ देशका ४९ हजार २ सय ५७ जना नेपालीमा कोरोना संक्रमण भएको हो ।
स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४६ हजार ३८ जना रहेको छ । यो कुल संक्रमितको ९३ प्रतिशत रहेको हो ।
विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको कुल संख्या ३ सय १ पुगेको छ । सापकोटाका अनुसार यो साता साइप्रस, जापान, भारत, रोमानिया, स्पेन, कतार, युएई र साउदी अरबमा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ ।




प्रतिक्रिया