काठमाण्डु – पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपेका पूर्व उपप्रधानमन्त्री गच्छदार विशेष अदालतमा बुधबार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले गच्छदार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको जानकारी दिए । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेका गच्छदार लामो समय फरार रहेर बुधबार विशेष अदालतमा उपस्थित भएका थिए ।
आज विशेष अदालतमा अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा थुनामा पठाउने वा धेरौटीमा छाड्ने भन्ने विषयमा बहस भएको थियो । गच्छदारका तर्फबाट वरिष्ठ अधिवक्ताहरु महादेव यादव, हरिहर दाहाल, कृष्णप्रसाद सापकोटा, अधिवक्ता ललित बस्नेत र मधुर पाठकले बहस गरेका थिए ।
विशेष अदालत काठमाण्डुले ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारको सुनसरीस्थित निवासमा १५ दिने म्याद तामेली टाँस गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको छ ।
ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।




प्रतिक्रिया