कांग्रेस महाधिवेशनः कार्यकर्ता असन्तुष्ट, सभापति देउवाले वास्तै गरेनन्

कांग्रेस महाधिवेशनः कार्यकर्ता असन्तुष्ट, सभापति देउवाले वास्तै गरेनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ताहरुले धर्ना दिएका छन् । बारा र सर्लाही र धनुसाका नेता कार्यकर्ता धर्नामा बसेका हुन् ।

पार्टीको विधान मिचेर मनोमानी ढंगबाट सदस्यता वितरण गरिएको भन्दै नेता/कार्यकर्ताहरुले पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना सुरु गरेका छन् ।

विधान विपरीत बाँडिएका क्रियाशील सदस्यता खारेजीको माग गर्दै बाराका नेताकार्यकर्ता १२ औँ दिनदेखी धर्नामा छन् । आफुहरुको माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने नेपाल विद्यार्थी संघका पुर्व सहमहामन्त्री राजेश रौनियारले बताए ।

उनले भने, ‘विधान मिच्ने अधिकार कसैलाई छैन् । पार्टी विधानअनुसार चल्नुप¥यो भन्ने हाम्रो माग हो ।’

पार्टीको कुनै पनि तहमा बसेर काम गर्ने नेता/कार्यकर्तामाथि हुने अन्याय सह्य नहुने नेता रौनियारको भनाइ छ । यस्तै सर्लाहीका नेता/कार्यकर्ता पनि पार्टी पदाधिकारीको ध्यानाकर्षण गराउनका लागि केन्द्रिय कार्यालयमा धर्ना बस्न आइपुगेका छन् ।

उनीहरुले विगत ५ दिनदेखि धर्ना सुरु गरेका छन् । सर्लाहीको बसबरीया गाउँपालिका १ का राम गोविन्द रायले हिजोदेखी आमरण अनसन थालेका छन् ।

पार्टीको विवादले सांसदको राजीनामा

क्रियाशील सदस्यता वितरण धाँधली भएको भन्दै एक जना प्रभावशाली सांसदले राजीनामा दिएका छन् । क्रियाशील सदस्यता वितरणमा असन्तुष्टी जनाउँदै सर्लाही क्षेत्र नम्वर ४ का नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

आफ्नै पार्टीका कार्यकर्तालाई न्याय दिन नसक्ने हो भने सांसद पदमा बसेर जनताको सेवा गर्न नसक्ने भएकाले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएको नेता सिंहको भनाइ छ ।

सर्लाहीमा तत्कालीन राष्ट्रिय जनता पार्टीका महासचिव जंगीलाल राय, माओवादी केन्द्रका नेता शम्भुलाल श्रेष्ठलगायत अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई समायोजनका नाममा ठूलो संख्यामा क्रियाशील सदस्यता दिइएको छ । त्यस्तै कांग्रेसमा लामो समयदेखि क्रियाशील सदस्यहरुलाई वेवास्ता गरेको भन्दै सर्लाहीका नेता/कार्यकर्ता सानेपामा धर्नामा छन् ।

धर्ना बस्न धनुषाबाट काठमाण्डु

यता धनुषाका कांग्रेस नेताहरुको आमरण अनसन आज पाचौँ दिन पनि जारी छ । धनुषाका पूर्वसांसद डा. चन्द्रमोहन यादवसहित महासमिति सदस्य रामपल्टन शाह र तरुण दल जिल्ला कार्यसमिति सदस्य दिनेश नायक पनि आमरण अनशनमा बसेका छन् ।

यादव पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा हुन् । धनुषामा मापदण्ड विपरीत वितरण गरिएको क्रियाशील सदस्यतालाई मान्यता नदिन माग गर्दै उनीहरु अनशन बसेका हुन् ।

क्रियाशील सदस्यता छानबिन समितिले काम अन्तिम चरणमा पु¥याएका बेला असन्तुष्टिलाई लिएर धर्ना र अनशन बस्नेको संख्या बढ्दै गएको छ । पार्टीको तहगत निर्णय नगरी एक पक्षीय रुपमा नयाँ क्रियाशील वितरण गरिएको उनीहरुको आरोप छ । जिल्लामा सुनुवाई नभएपछि केन्द्रिय कार्यालयमा आउनुपरेको अनसनकर्ताहरुको भनाइ छ ।

सभापति देउवाले वास्तै गरेनन्

पार्टी सभापति शेरबहादुर देउवाले कार्यकर्ताहरुको माग र पार्टी कार्यालयमा भएको धर्नाका विषयमा वेवास्ता गरेका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएसंगै वालुवाटार सरेका पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवादका विषयमा चासो नदिएको कार्यकर्ताहरुको गुनासो छ । पार्टी कार्यालयमा धर्ना सुरु भएको सुइँको पाएर नै उनले पार्टीको बैठकपनि बालुवाटारमा आयोजना गरेको स्रोतले जनाएको छ ।

समस्या सुल्झाउनुको सट्टा सभापति देउवाले आफुहरुको माग वेवास्ता गरेको अनसनमा बसेको नेता/कार्यकर्ताहरुको आरोप छ । क्रियाशील सदस्यता छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले आन्दोलनरत पक्षसँग सहमतिको प्रयास भइरहेको जानकारी दिए ।

कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाण्डुमा गर्ने गरी कार्यतालिका सार्वजनिक भएको छ । तर, क्रियाशिलताको विवादले महाधिवेशन नै प्रभावित हुने सम्भावना बढेको कांग्रेस नेताहरु बताउँछन् ।

स्थानीयस्तरमा १२ साउनदेखि अधिवेसन शुरु हुँदैछ । तर, विवाद देखिएपछि केन्द्रीय महाधिवेशन प्रभावित नहुनेगरी स्थानीय अधिवेशनको मिति केही पर धकेल्ने बिषयमा छलफल भईरहेको बताइएको छ ।