माओवादीमा मन्त्री बन्न दौडधुप : नारायणकाजीदेखी महरासम्म लविङमा

माओवादीमा मन्त्री बन्न दौडधुप : नारायणकाजीदेखी महरासम्म लविङमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नयां सरकार बनेसंगै नेकपा माओवादी केन्द्रमा मन्त्री बन्नेहरुको दौडधुप सुरु भएको छ । माओवादी केन्द्रको समर्थनमा बनेको गठवन्धन सरकारमा माओवादीले बढीमा ७ मन्त्रालय पाउने देखिन्छ । तर, मन्त्री बन्न भने दुई दर्जन सांसदहरु लविङमा देखिन्छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिवार कम्युनिष्ट नेता नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसका अवसरमा बोल्दै पार्टीका ४९ जना सांसदबाट नै मन्त्री बनाउन दबाब आएको बताएका थिए ।

उनले माओवादीले पायो भने ७ जनासम्मलाई मन्त्री बनाउन पाउने भन्दै आफु तीन चार दिनदेखि निकै मानसिक तनावमा रहेको बताएका थिए ।

माओवादी केन्द्रमा केही सिमित नेताले मात्र बारम्बार मन्त्री पद पाएको भन्दै असन्तुष्टि छ । माओवादीबाट यसपटक पनि तिनै नेताहरु मन्त्री बन्ने लविङमा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनेका पम्फा भुषाल र जनार्दन शर्मा समेत यसअघि पटक-पटक मन्त्री बनिसकेका छन् । माओवादीमा मन्त्री बनाउनका लागी मापदण्ड नबनाउंदा केहीले पटक पटक लाभ लिने गरेको र कसैले अहिलेसम्म पनि मौका नपाएको गुनासो छ ।

मन्त्री छान्ने जिम्मा अन्तिममा माओवादीमा अध्यक्ष दाहाल नै दिने गरिएको छ । यसपटक पनि उनैले अन्तिम निर्णय लिनेछन् । यसपटक पनि मन्त्री बन्न नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा,देव गुरुङ,हरिवोल गजुरेल,वर्षमान पुन, शिवकुमार मण्डल र विना मगर दौडमा छन् । श्रेष्ठको यसअघि नै माओवादीबाट सरकारको नेतृत्व गरे मन्त्री बन्ने चाहना थियो । तर, शर्मा र भुषाललाई सरकारमा पठाउंदा आफुसंग सल्लाह नै नगरेको भन्दै उनि अध्यक्ष दाहालसंग असन्तुष्ट छन् । दाहालले उनको व्यवस्थापन गर्न पनि सरकारमा पठाउने तयारी गरेका छन् ।

श्रेष्ठ माओवादीमा यस्ता नेता हुन जसले एउटा फरक गुटको नेतृत्व गर्दै पटक पटक अवसर लिएका छन् । उनी यसअघि उपप्रधानमन्त्रीसहित गृह र परराष्ट्रजस्तो महत्वपूर्ण मन्त्रालयको मन्त्री भइसकेका छन् । उनले आफु मन्त्री नहुंदा गिरिराजमणि पोखरेललाई मन्त्री बनाउने गरेका छन् । त्योभन्दा बढी अवसर लिनेमा महरा अगाडी छन् । उनि माओवादीमा सबैभन्दा बढी लाभको पद लिनेमा पर्छन ।

माओवादीमा स्थायी समिति सदस्य भएर पनि अहिलेसम्म मन्त्री बन्न नपाएका देवेन्द्र पौडेल छन् । अहिले पौडेलसहित अमनलाल मोदी,मायाप्रसाद शर्मा, तारामान स्वांर,सुदर किंराती,महेश्वर गहतराज,हरि चौधरीलगायत मन्त्री बन्ने दौडमा छन् ।

मन्त्रिपरिषद् विस्तारका लागी गठवन्धनका नेताहरुबीच शनिवारबाट छलफल सुरु भएको छ । उनिहरुबीच साउन १२ गतेभित्र मन्त्रिमण्डल विस्तार गर्ने सहमती भएको स्रोतको दावी छ ।

तर, अहिले मन्त्रीका आकांक्षीहरु सवै पार्टीभित्र धेरै हुनु,जसपाको आधिकारिकताको विवादको टुंगो नलाग्नु,माधव नेपाल पक्षले सरकारमा जाने, नजाने निर्णय नगर्नु र भागवण्डा नमिल्नुले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको हो ।