काठमाण्डु – दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको सचिवालयको कार्यालय स्थापना भएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सचिवालयको कार्यालयको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले गरेका छन्।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्दले सचिवालय सञ्चालनमा आएसँगै प्रदेशमा प्रतियोगिताको रौनक बढेको बताए । तयारीका कामलाई व्यवस्थित रूपमा अघि बढाउन सचिवालयले आवश्यक समन्वय गर्ने उनले बताए ।
मुख्यमन्त्री शाहीले सचिवालय उद्घाटनसँगै कर्णालीले दसौँ राष्ट्रिय खेलकुदलाई खेल उत्सवका रूपमा लिन थालेको बताए ।
प्रतियोगिता कर्णालीका लागि खेलाडीबीचको प्रतिस्पर्धा मात्र नभई प्रदेशको खेल गतिविधि विस्तार गर्ने अवसरसमेत भएको उनको भनाइ थियो ।
दसौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएन) गरी ११ टिम सहभागी हुनेछन् । प्रतियोगितामा ३२ खेल समावेश गर्ने तयारी गरिएको छ । आगामी मंसिर १६ देखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने कार्यतालिका छ ।
यसअघि गत फागुन २५ गते वीरेन्द्रनगरस्थित प्रदेश रंगशाला परिसरमा दसौँ राष्ट्रिय खेलकुदको मूल आयोजक सचिवालय उद्घाटन गरिएको थियो । अहिले मूल आयोजक समितिको सचिवालयलाई सक्रिय बनाउँदै प्रतियोगिताका खेलस्थल, आवास, यातायात, सुरक्षा तथा स्वास्थ्यलगायत व्यवस्थापनका काम अघि बढाउने तयारी गरिएको छ ।




प्रतिक्रिया