जसपा विवाद : ‘हेड काउन्ट’बारे निर्णय लिन महन्त ठाकुर पक्षको बैठक बस्दै

जसपा विवाद : ‘हेड काउन्ट’बारे निर्णय लिन महन्त ठाकुर पक्षको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले कार्यकारिणी बैठक बोलाएको छ । महन्थ पक्षले पार्टी कार्यालय बबरमहलमा आइतबार अपराह्न ५ बजेका लागि बैठक बोलाएको हो ।

पार्टीको आधिकारिकता सम्बन्धी विवाद निरूपण गर्न ‘हेड काउन्ट’का लागि निर्वाचन आयोगले एकताका समयमा गठित जसपाका कार्यकारिणी सदस्यहरूलाई भोलि ११ बजे आयोगमा उपस्थित हुन आदेश दिएसँगै सो पक्षले कार्यकारिणी बैठक बोलाएको हो ।

निर्वाचन आयोगको आदेशविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् । रिट निवेदनमा हेड काउन्टको प्रक्रिया रोक्नका लागि आदेश जारी गर्न माग गरिएको छ ।

कुल ५१ कार्यकारिणी समिति सदस्यमध्ये महन्थ राजेन्द्र २० भएको दाबी गरेका छन् । तर उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले आफूसँग ३२ जना कार्यकारिणी सदस्य भएको बताउँदै आएको छ । शनिबार बसेको यादव पक्षको कार्यकारिणी बैठकमा पनि ३२ जना सदस्य उपस्थित भएका थिए ।

‘पार्टीको आधिकारिकता उपेन्द्र बाबुराम पक्षले पाउने निश्चित भयो,’ ठाकुर पक्षका एक नेताले भने, ‘हामीले पार्टी आधिकारिकता नपाए नयाँ दल दर्ता गर्नुपर्ने हुन सक्छ । आजको बैठकमा यही विषयमा छलफल हुनेछ ।’