काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री नियुक्तीमा विवाद आएको भन्दै गुनासो गरेका छन् ।
बुधबार बसेको पाँच दलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको नियुक्तीमा विवाद आएको भन्दै गुनासो पोखेका हुन् । उनले राज्यमन्त्री नियुक्तीलाई लिएर चौतर्फी आलोचन हुन थालेको भन्दै गठबन्धनसँग सहयोग मागेका थिए ।
प्रधानमन्त्री देउवाले कोरोना भाइरस संक्रमणको खोप खरिद लगायतका विषयमा असहज अवस्था सिर्जना भएकाले राज्यमन्त्री नियुक्त गरिए पनि विवादमा तानिएको बताए ।
‘खोप ल्याउन भइरहेको ढिलाइको प्रश्न आइरहेको र त्यही बेलामा नियुक्त गरिएका स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिकै विषयमा चौतर्फी अट्याक भइरहेको छ, तपाईंहरूको सुझाव के छ ?’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै नेकपा एमालेको माधव नेपाल समूहका नेता डा. विजय पौडेलले भने ।
बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्वास्थ्य राज्यमन्त्री नियुक्तीको विषय उठान गरेका थिए । उनले प्रधानमन्त्री देउवालाई स्वास्थ्य राज्यमन्त्री बनाउने कोही पाइएन ? भन्दै प्रश्न गरेका थिए ।
निजी विद्यालयका सञ्चालकसमेत रहेका श्रेष्ठलाई देउवाले राज्यमन्त्री बनाएसंगै सत्तारुढ गठबन्धन पनि असन्तुष्टी चुलिएको थियो ।




प्रतिक्रिया