काठमाण्डु – जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल फिजीको नादी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा आयोजना हुने कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल फिजी पुगेको हो ।
मन्त्री खनालले अक्टोबर ६ मा आयोजना हुने नेताहरूको पूर्ण सत्र (लिडर्स प्लेनरी) मा सम्बोधन गर्नेछन् । उक्त सत्रअघि उनले पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग संयुक्त रूपमा आयोजना हुने सञ्चारकर्मीसँगको प्रश्नोत्तर कार्यक्रममा समेत सहभागिता जनाउनेछन् ।
जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अगाडि बढाउने उद्देश्यले आयोजना हुने प्रि–कोप लिडर्स इभेन्टमा नेपालको सहभागिताले जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरोकारका विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
फिजी र टुभालुमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाएपछि परराष्ट्रमन्त्री खनाल अस्ट्रेलिया प्रस्थान गर्नेछन् । उनले अक्टोबर ८ मा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्ताका क्रममा नेपाल–अस्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल हुनेछ ।
अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास र सिड्नीमा रहेका नेपाली डायस्पोराले छुट्टाछुट्टै आयोजना गर्ने कार्यक्रममा समेत सहभागिता जनाउनेछन् । ती कार्यक्रममा उनले अस्ट्रेलियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् । मन्त्री खनाल अक्टोबर १२ मा नेपाल फर्कने कार्यक्रम छ ।




प्रतिक्रिया