काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय बालकुमारीमा मंगलबारदेखि सुरु भएको बैठक आज पनि पुनः १ बजे बस्ने भएको हो ।
स्रोतका अनुसार आज बस्ने बैठकले महन्थ ठाकुरसहित १६ जनालाई कार्यकारिणी समितिबाट हटाउने निर्णय गर्ने र जसपाबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने सम्भावना रहेको छ ।
निर्वाचन आयोगले सोमबार जसपाका कार्यकारिणी समिति सदस्यहरुलाई आयोगमा उपस्थित गराएर दुई पक्षमा सनाखत गराएको थियो ।हेडकाउन्टमा उपेन्द्र यादव पक्षमा ३४ जनाले सनाखत गरेका थिए । जसमा १६ जनाले महन्थ ठाकुर पक्षमा हस्ताक्षर गरेका थिए भने १ जना रेशम चौधरी तटस्थ बसेका थिए । जसपाको कुल ५१ मध्ये कार्यकारिणी समितिमा हाल ३४ जना सदस्य कायम भएका छन् ।
यसअघि हिजो बसेको बैठकले संसदीय दलको विधान पारित र लुम्बिनी प्रदेशका तिन सांसदलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । बैठकले लुम्बिनी प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डे, विजयकुमार यादव र कल्पना पाण्डे लम्साललाई कारबाही गर्ने निर्णय गरेको जसपा नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पाण्डे, यादव र लम्साल तथा सुमन शर्मा रायमाझीले मन्त्री पदको शपथ लिएका थिए । सुमन शर्माले भने केहि दिनअघि मात्रै राजीनामा दिएकी छन् । लामो समयदेखिको जसपा विवादमा निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै जसपा वैधानिक रुपमै विभाजित भएको हो ।
सत्ताका लागि टुटफुट र विभाजनको नमीठो शृङ्खला खेप्दै आएका दुई मधेशवादी पार्टीबीच गत वर्ष एकता भई जसपा बनेको थियो । तर, सरकारमा जाने विषयमा शुरु भएको विवाद चुलिँदै जाँदा पार्टी गठनको १४ महिनामै जसपा विभाजनमा पुगेको हो ।




प्रतिक्रिया