एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडनले खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई आह्वान गरेका छन् । सङ्क्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्न उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि खोपसम्बन्धी नयाँ कडा निर्देशन जारी गरेका हुन् ।
बाइडनले जारी गरेको निर्देशनअनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्नेछ । आधिकारिक विवरण अनुसार हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले मात्र खोपको पूरा मात्रा लिएका छन् ।
बिहीबार ह्वाइट हाउसमा बोल्दै बाइडनले बढी सङ्क्रामक डेल्टा भेरिअन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको बताए । उक्त भेरिअन्टले खोप नलगाएकाहरूमा महामारी निम्त्याएको छ ।
बाइडनले पहिले नै खोप लगाइसकेका अमेरिकीहरूका लागि न्यायसङ्गत जस्तो नदेखिए पनि सबैका हितका लागि नगद प्रोत्साहन दिने घोषणा गरिएको बताए । उनले भने, ‘यदि हामीमाझ धेरैभन्दा धेरै खोप लगाएका व्यक्तिहरू भए भने हामी सबैलाई राहत हुनेछ ।’
खोप लगाउने नयाँ व्यक्तिहरूलाई अब प्रतिव्यक्ति एक सय डलर दिने उनले घोषणा गरेका छन् । उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गत रहेको १.९ ट्रिलियनको कोषबाट प्रयोग गर्न सक्नेछन् ।
बाइडनले खोप लगाउन कामदारलाई समय दिने साना र मझौला व्यवसायमा त्यसबाट पुगेको आर्थिक क्षतिको सङ्घीय सरकारले परिपूर्ति गरिदिने बताए । ह्वाइट हाउसले देशभरिका अन्य रोजगारदाताका लागि पनि त्यस्तै गर्न प्रोत्साहित गर्नका निम्ति उक्त कदम चालेको हो ।
अहिले अमेरिकामा प्रतिहप्ता करिब दुई हजार व्यक्तिको कोभिडका कारण निधन भइरहेको छ । त्यस्तै त्यहाँ दैनिक सङ्क्रमण दर पनि ६० हजारसम्म रेकर्ड भएको छ ।




प्रतिक्रिया