एजेन्सी– फ्रान्समा विद्यालयका विद्यार्थीको आन्दोलन चर्किँदै गएको छ। शुक्रबार विभिन्न विद्यालयबाहिर आगजनी र प्रहरीसँग झडप भएपछि आन्दोलन थप तनावपूर्ण बनेको हो।
गत सातादेखि जारी आन्दोलनका कारण देशभरका ५६० भन्दा बढी उच्च माध्यमिक विद्यालयमा पठनपाठन प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ।
पेरिस क्षेत्रबाट सुरु भएको आन्दोलन केही दिनमै देशभर फैलिएको हो । अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूले विद्यालय प्रवेशद्वार अवरुद्ध गर्दै लामो कक्षासमय, अपर्याप्त भौतिक सुविधा, अत्यधिक गर्मी भएका कक्षाकोठा तथा शिक्षकको अभावलगायतका समस्या उठाएका छन् ।
पेरिसस्थित टुर्गो उच्च माध्यमिक विद्यालयबाहिर १५ वर्षीय साइमनले एक वर्षसम्म आफूहरूको विज्ञान शिक्षक नभएको र पाठ्यपुस्तक नभएको बताए ।

सरकारले विद्यार्थीहरूले उठाएका केही गुनासा जायज रहेको स्वीकार गरे पनि आन्दोलनका क्रममा भएको हिंसाको आलोचना गरेको छ । शिक्षामन्त्री एडुआर जफ्रेले विद्यार्थी आन्दोलनलाई “अत्यधिक हिंसात्मक समूहहरूले नियन्त्रणमा लिएको” आरोप लगाए ।
शुक्रबार पेरिसका लियोनार दे भिन्सी र गास्तों–बाशलार उच्च माध्यमिक विद्यालयका प्रवेशद्वारमा आगलागी भएको र दमकलले आगो निभाएको समाचार संस्थाले जनाएको छ ।

सरकारका अनुसार आन्दोलन सुरु भएयता ६५ जना विद्यालय कर्मचारी घाइते भएका छन्, जसमा ४० जना विद्यालय प्रधानाध्यापक छन् । साथै, करिब १७० विद्यार्थी घाइते भएको र १०० भन्दा बढी विद्यालयमा गम्भीर क्षति पुगेको शिक्षामन्त्रीले बताए ।
न्यायमन्त्री जेराल्ड दार्मानिनका अनुसार आन्दोलन सुरु भएयता करिब २ हजार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ, जसमध्ये करिब ९० प्रतिशत नाबालिग रहेका छन् ।




प्रतिक्रिया