काठमाण्डु – नेपालमा आगामी पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना कोरोनाका नयाँ संक्रमित थपिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमान गरेको छ ।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा स्वास्थ्यमन्त्रालय अन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने तथ्याङ्क प्रस्तुत गरेका छन् ।
यस्तै उनको तथ्याङ्कमा ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्नसक्ने सम्भावना रहेको उल्लेख गरिएको छ । साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोजमा ३८ हजार ५९७, कात्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १८३ जना नयाँ संक्रमित थपिने अनुमान गरिएको छ ।
संक्रमितमध्ये ८० प्रतिशत सामान्य, १५ प्रतिशत जटिल र ५ प्रतिशत गम्भीर हुने प्रक्षेपण पनि गरिएको छ । यस्तै आजकै बैठकमा सांसदहरुले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई कोरोनाविरुद्धको खोपको मुल्य सार्वजनिक गर्न आग्रह गरेका छन् । उनीहरुले मोर्डना, भेरोसेल र जोनसन एण्ड जोनसनको मूल्य सार्वजनिक गर्न आग्रह गरेका हुन् ।
चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोप खरिदका लागि तत्कालिन केपी शर्मा अोली नेतृत्वको सरकारले नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो ।




प्रतिक्रिया