आफ्नै मञ्चबाट गगनको प्रश्न- ३५ वर्षको राजनीतिक परिवर्तनले जनताको जीवन किन बदलेन ?

आफ्नै मञ्चबाट गगनको प्रश्न- ३५ वर्षको राजनीतिक परिवर्तनले जनताको जीवन किन बदलेन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रलाई जनताको दैनिक जीवनमा देखिने परिणामसँग जोड्ने पुलको काम कांग्रेसले गर्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले लामो राजनीतिक संघर्ष र परिवर्तनपछि पनि रोजगारी सिर्जना, युवा पलायन रोकथाम र जनताको जीवनस्तर सुधारमा अपेक्षित परिणाम आउन नसकेको भन्दै अब सबै राजनीतिक दलले गम्भीर समीक्षा गर्नुपर्ने बताए।

‘३५ वर्षदेखि युद्ध किन व्यहोर्‍यौँ? शान्ति प्रक्रियामा पनि यहीँ भयो। यही ३५ वर्षभित्र सबै गाउँ रित्तिए। किन रोजगारी भएन? युवा किन पलायन भयो?’ थापाले प्रश्न गरे।

उनले राजनीतिक परिवर्तन मात्र पर्याप्त नभएको भन्दै त्यसलाई आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्नुपर्ने बताए। जनताले लोकतन्त्रको प्रतिफल आफ्नो जीवनमा अनुभूति गर्न नसक्नुको कारण सबै राजनीतिक शक्तिले मिलेर खोज्नुपर्ने उनको भनाइ थियो।

‘यो विषय हामी सबै मिलेर खोज्नुपर्छ। हामी महाधिवेशनमा यही कुरा डेलिभरी दिनका लागि के गर्ने, कांग्रेस कस्तो बनाउने भनेर मन्थन गर्नेछौँ,’ थापाले भने।

‘कांग्रेस कमजोर हुँदा विश्वासको पुल ढल्छ’

थापाले कांग्रेसले लोकतन्त्रको पक्षमा बोल्ने राजनीतिक दल मात्रै नभई जनतालाई परिणाम दिने शक्तिका रूपमा आफूलाई स्थापित गर्नुपर्ने बताए।

‘डेमोक्रेसी र डेलिभरीको पुलको काम कांग्रेसले गर्छ,’ उनले भने, ‘पुराना र नयाँ पुस्तालाई जोड्ने काम कांग्रेसले गर्छ। यही संकल्प गर्छ।’

कांग्रेस कमजोर वा निष्क्रिय हुँदा लोकतान्त्रिक व्यवस्था र जनताबीचको विश्वासमा समेत असर पर्न सक्ने उनको भनाइ थियो।

‘आजको दिनमा नेपाली कांग्रेस बन्द भयो भने के हुन्छ भन्ने कुरा जनताले सोच्नुपर्ने बनाउने काम गर्नुपर्छ,’ थापाले भने, ‘पुल ढल्यो भने विश्वास ढल्छ। त्यो विश्वासका लागि कांग्रेसले काम गर्नुपर्ने छ।’

‘सिद्धान्तका लागि पाँच चुनाव हार्न तयार छौँ’

थापाले तत्कालको राजनीतिक लाभका लागि सिद्धान्तसँग सम्झौता गर्ने प्रवृत्तिबाट कांग्रेस टाढा रहनुपर्ने बताए।

‘हामी लोलेपोते होइनौँ, हामी स्पष्ट हुन्छौँ। सिद्धान्तमा अडिनुपर्दा पाँच वटा चुनाव हार्न तयार छौँ, तर सिद्धान्तसँग सम्झौता गर्दैनौँ भन्ने हुनुपर्छ,’ उनले भने।

उनले कांग्रेसको आगामी यात्रा स्पष्ट राजनीतिक सिद्धान्त, मूल्य र जनताप्रतिको प्रतिबद्धतामा आधारित हुनुपर्ने बताए।

रोजगारी र उत्पादनमा निजी क्षेत्रलाई साथ

थापाले आर्थिक विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि निजी क्षेत्र तथा उद्योगी व्यवसायीको भूमिकालाई सम्मान गर्नुपर्ने बताए।

उद्योगी तथा व्यवसायीले सम्मान पाउने वातावरण निर्माण गर्दै लगानी र उत्पादन विस्तारलाई राजनीतिक प्राथमिकतासँग जोड्नुपर्ने उनको भनाइ थियो।

निर्वाचन महत्वपूर्ण भए पनि हरेक निर्णयलाई तत्कालको चुनावी लाभसँग मात्र जोड्न नहुने थापाले बताए। दीर्घकालीन रूपमा देश र जनताको हितमा काम गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्ने उनले बताए।

थापाले १५औँ महाधिवेशनलाई नेतृत्व परिवर्तन गर्ने औपचारिक प्रक्रिया मात्र नभई कांग्रेसको आगामी राजनीतिक दिशा, नीति र जनतालाई परिणाम दिने क्षमतामाथि गम्भीर मन्थन गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।