लिदी पहिरोबाट विस्थापित भएका ३१ परिवारका लागि सेनाले बनायो अस्थायी आवास निर्माण

लिदी पहिरोबाट विस्थापित भएका ३१ परिवारका लागि सेनाले बनायो अस्थायी आवास निर्माण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत वर्ष गएको पहिरोबाट विस्थापित भएका परिवारका लागि नेपाली सेनाले अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको छ। नेपाली सेनाले लिदीबाट विस्थापित भएकाहरुको लागि जुगल गाउँपालिका–१ बासखर्कमा ३१ वटा अस्थायी आवास भवन निर्माण गरेकाे हो।

सेनाले स्थानीय स्रोतसाधनसहित जस्ताको प्रयोग गरेर आवास भवन निर्माण गरेको हो। ३१ वटा आवास भवनका अतिरिक्त ७ वटा शौचालय, १ वटा बाथरुम , १ वटा स्वास्थ्य चौकी र १ वटा क्यान्टिन भवन निर्माण गरेको हो।

आइतबार एक कार्यक्रमका बीच नम्बर २६ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी बिष्णु राउतले जिल्ला विपत् व्यवस्थापन समिति र स्थानीय विपत् व्यवस्थापन समितिलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।

भवन हस्तान्तरण कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, जुगल गाउँपालीकाका अध्यक्ष, जिल्ला स्थित अन्य सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधिहरु लगायत पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।

२०७७ श्रावण ३० गते गएको पहिरोमा परि ३९ जनाको मृत्यु भएको र २८ घर-परिवारहरु पुर्ण रुपमा बिस्थापित भएका थिए । विस्थापित भएकाहरुलाई पहिलो चरणमा आवास उपलब्ध गराउने र जोखिममा रहेका अन्यलाई क्रमश: अस्थायी घरहरु बनाउने योजना अनुसार जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकबाट नेपाली सेनासँग सहयोगको लागि लिखित अनुरोध भए अनुरुप “जनताका साथ नेपाली सेना, बासखर्क आवास परियोजना” निर्माणको पहिलो चरणको कार्य सम्पन्न गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ।

उक्त आवास निर्माणबाट बिपद्‍का कारण बिस्थापित भई करिब एक बर्षदेखि पालमा बसोबास गरिरहेका ३१ घर परिवारको लागि केहि राहत भएकाे छ ।