गगनसँगको चिसो सम्बन्धले कांग्रेस महाधिवेशनमा गएनन् ओली

गगनसँगको चिसो सम्बन्धले कांग्रेस महाधिवेशनमा गएनन् ओली

उपेन्द्र, हर्क र सीके पनि अनुपस्थित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आइतबार हुन लागेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा केही शीर्ष नेताहरू नजाने भएका छन्।

कांग्रेसले अधिकाशं दलका शीर्ष नेताहरूलाई निम्तो गरेको थियो । तर केही प्रमुख नेता महाधिवेशनको उद्घाटन समारोहमा नजाने भएका हुन्।

यसरी कांग्रेसको महाधिवेशनमा नजानेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख नेता छन्। उनी र कांग्रेस सभापति गगन थापाको सम्बन्ध राम्रो छैन। ओलीले २०८२ भदौ २४ गतेसम्म तत्कालीन सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्य गरेका थिए।

तर पुस मसान्तममा गगन कांग्रेसको नेतृत्वमा आएसँगै एमाले र ओलीसँगका सबै किसिमका सम्बन्ध तोडे। कांग्रेस चुनावमा पनि एक्लै उत्रियो । तर अहिले एमाले र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्यनुिस्ट पार्टी निकट छन्।

‌ओलीलाई थापाले महाधिवेशनमा सहभागिताका लागि निम्तो पनि पठाए । तर आफ्ना राजनीतिक सहयात्रीको दु:खद बहिर्गमनबाट ओली गगनसँग क्षुब्ध छन् । ओली आफैैं भने चौतर्फी दबाबबीच पनि एमालेको नेतृत्वमा टिकिरहेका छन्। देउवालाई भने गगनले पार्टीबाट पाखा लगाइदिए ।

सुरूमा ओलीले कांग्रेसको महाधिवेशनमा सहभागी हुने भनेका थिए । तर ओलीले गगनसँगको चिसो सम्बन्धनका कारण खुलामञ्च नजाने निर्णय लिए । ओलीको सचिवालयले आइतबार कांग्रेस महाधिवेशनमा अब महासचिव शंकर पोखरेल जाने जनाएको छ।

त्यस्तै, उता जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) पनि कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा नजाने छन्। उनी अहिले जनमत पार्टीको दोस्रो महाधिवेशनका क्रममा वीरगञ्जमा छन्। कांग्रेस महाधिवेशनमा आफू आउन नसक्ने जानकारी राउनले आइतबार नै दिइसकेका छन्।

‘म आफ्नै पार्टीको महाधिवेशनका लागि वीरगञ्जमा छु। गगनजीहरूलाई मेरो शुभकामना छ। उहाँहरूले राम्रो सन्देश दिएर महाधिवेशन गर्न लाग्नुभएको छ’ उनले भने, ‘काठमाडौंमै भए जानुपर्थ्यो, तर आफ्नै पार्टीको महाधिवेशनमा वीरगञ्जमा रहेका कारण सहभागिता जनाउन असमर्थ भएँ।’

२०७९ को निर्वाचनअघि गठित जनमत पार्टीको दोस्रो महाधिवेशनबाट राउत अध्यक्षमा दोहोरिएका छन्। यसअघि उनले संसदीय राजनीति नगर्ने बताएका थिए । तर पार्टी राजनीतिमा भने उनी पकड बनाएर बसेका छन्।

अर्कातिर जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि कांग्रेस महाधिवेशनमा नजाने भएका छन्। यादवले आफ्नो साटो पार्टीका अर्का नेता सहभागी हुने बताएका छन्। यादवले आफू काठमाडौंमा भए पनि अर्को कार्यक्रममा व्यस्त रहेको बताएका छन्। उनले सह-अध्यक्ष शरतसिंह भण्डारीलाई कांग्रेस महाधिवेशनमा पठाएका यादवको सचिवालयले जनाएको छ।

उता श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ पनि कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा नजाने भएका छन्। उनको स्थानमा पार्टीका महासचिव आरेन राई सहभागी हुँदैछन्।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आइतबार दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा सुरू भएको छ।

कांग्रेसले उद्घाटन समारोहमा दलका शीर्ष नेताहरूलाई निम्तो दिएको छ। तर यो महाधिवेशनमा प्रधानमन्त्री वालेन्द्र शाह जाने छैनन् । उनलाई निम्तो पनि गरिएको छैन ।

कांग्रेसले पहिलो पटक प्रधानमन्त्रीको अनुपस्थितिमा महाधिवेशन गर्दैछ। यसअघिका अधिकांश महाधिवेशनमा प्रधानमन्त्रीको उपस्थिति टुटेको थिएन।